हावादारी कुरा गरेर जनता ढाट्ने काम नगरौंः एमाले नेता खड्का

नेकपा एमाले साकेला गाउँपालिकाका इन्चार्ज गोपीकृष्ण खड्काले गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई हावादारी कुरा गरेर जनतालाई ढाट्ने काम नगर्न आग्रह गरेका छन् ।

गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवारसमेत रहेका खड्काले गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा माओवादी केन्द्रका नेता अर्जुनकुमार खड्कालाई इंगित गर्दै हावादारी कुरा गरेर जनतालाई नढाट्न आग्रह गरेका हुन् ।

वैशाख ३० गतेको स्थानीय निर्वाचनमा अर्जुनकुमार खड्का माओवादी केन्द्रबा दोस्रोपटक पनि अध्यक्षको उम्मेदवार थिए ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार रविप्रकाश राईले जितेपछि निवर्तमान अध्यक्ष खड्काले आफूले पाँच वर्षको अवधिमा गाउँपालिकाको विकासको जग बसाएर काफी काम गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

एमाले नेता खड्काले उनलाई नै इंगित गरी गाउँपालिकाभित्र पर्ने सडक २०७४ सालको पहिलो स्थानीय निर्वाचनअघि नै ८० प्रतिशत बनिसकेको र स्थानीय जनप्रतिनिधिहरुले कुनै नयाँ र राम्रा काम नगरेको बताएका हुन् ।

बरु निवर्तमान अध्यक्ष खड्काले पार्टी हेरेर बाख्राको पाठा वितरण गर्ने, सुँगुर पालन, टनेला तथा पाल वितरण गर्ने काम गरेको उनले बताए ।

‘साकेला गाउँपालिकाभित्रका सबै वडामा भएका सडकलगायत सबै प्रकारका विकास निर्माण पहिलो स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु चुनिनुभन्दा अगाडि नै ८० प्रतिशत बनिसकेका थिए । जनप्रतिनिधिहरुले नयाँ कुनै राम्रा र भरपर्दा काम गरेको देखिन्न । भएका र बनिसकेका योजनाहरुलाई तोडमोड गर्ने र कुनै टोलबस्तीमा सडकका नाममा ग्रेड नमिलाई डोजर लगाउने काम भएको छ । जिल्लास्तरीय सडक प्रदेश सरकार र केन्द्रीय स्तरका सडकमा संघीय सरकारको बजेटबाट सडक बन्दैछन्,’ खड्काले फेसबुकबाट भनेका छन्, ‘शिक्षा र स्वास्थ्यमा कुनै नयाँ योजना र गुणस्तर शुण्य रह्यो । कृषिलाई व्यवसायीकरण बनाइएन, जनताको जीवनस्तर उकास्ने काम भएन, पार्टी हेरेर बाख्रा, सुँगुरका खोर टनेला पालमा विकास भएको चाहिँ पक्का हो ।’

उनले सामाजिक सुरक्षा विषयलाई व्यवस्थित गर्न नसक्ने जनप्रतिनिधिले विकासको रोइलो रट्नु हास्यस्पद रहेको उल्लेख गरेका छन् ।

साकेला गाउँपालिकामा पहिलो स्थानीय निर्वाचनबाट जनप्रतिनिधिहरु आएपछि पनि सोअघिदेखि हुँदै आएको सामाजिक सुरक्षा भत्ताको अनियमितता रोकिएको थिएन ।

गत वर्ष मात्रै उक्त विषय सार्वजनिक भएको थियो र एक आर्थिक वर्षमा ९१ लाख भन्दा बढी रकम हिनामिना भएको पाइएको थियो ।

यसअघिका जनप्रतिनिधिले के कति विकास गरे भन्ने कुरामा जनता छर्लङ्ग रहेको एमाले नेता खड्काले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img