चौतर्फी दबाबपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनमा दिएका छन् ।

शर्मामाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर निजी कम्पनीहरुलाई फाइदा हुने गरी करको दर हेरफेर गराएको आरोप छ ।

आज प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेलगत्तै विशेष समय लिएर संसदमा बाेल्दै पदबाट राजीनामा दिएका हुन् ।

साे क्रममा उनले छानबिनमा सघाउन राजीनामा दिएकाे बताए । संसदबाहिर निस्केर पत्रकारहरुसँग उनले आफूले गल्ती नगरेको जिकिर गरे  ।

गत जेठ १४ गते राति बजेट निर्माण गर्दा पार्टी आफ्नाे तर्फकाे विज्ञ भन्दै एक व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गराएका थिए ।

बजेट निर्माणकाे बैठकमा अनधिकृत व्यक्ति प्रवेश गर्दाको सीसीटीभी फुटेज हेर्नुपर्ने माग उठ्दा उक्त फुटेज डिलिट गरिएको थियाे ।