खोटाङको साकेला गाउँपालिकाले किरात सिरिजङ्गा लिपि प्रयोग गर्ने भएको छ ।
गाउँपालिकाले सरकारी कामकाजका लागि लेखिने सबै चिठ्ठीपत्रको शिरमा देवनागरी लिपिका साथै किरात सिरिजङ्गा लिपि पनि राख्ने भएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईकाअनुसार आर्थिक वर्ष २०७९/८० देखि सबै सरकारी चिठ्ठीपत्रको शिरमा किरात सिरिजङ्गा लिपि समावेश गरिनेछ ।
खोटाङको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुङ्गा गाउँपालिकाले यसअघि नै लेटरहेडमा किरात सिरिजङ्गा लिपि प्रयोगमा ल्याइसकेका छन् ।
यसैगरी गाउँपालिकाले मातृभाषा शिक्षाका लागि पनि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको वडा नं २ रतन्छास्थित साकेला माविमा केही वर्षअघिदेखि नै चाम्लिङ भाषाको पठनपाठन हुँदै आएकोमा त्यसलाई थप व्यवस्थित गर्नका लागि बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले बताइन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा स्थानीय समुदायकाे भाषा, धर्म, संस्कृति र भेषभुषाको संरक्षण गर्ने नीति लिएको छ ।
बहुत राम्रो निर्णय । भाषा जति धेरै सिक्यो उति राम्रो ।