संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् ।

सोमबार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।

भगवान् गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ ।

तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन् र अन्वेषणको आवश्यकता रहेको उनले बताए ।

तिलौराकोट दरबारको समुचित विकास एवम् प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताए ।

सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खनन्का बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।