काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।
फोहोर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ ।
हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहोर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहोर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिएका हुन् ।
उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहोर उठाउँदै आएको छ । फोहोर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ ।
निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहोर व्यवस्थापन हुन नसकेको आरोप छ ।
आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहोर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
