नेपालको कुल जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल जनसङ्ख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको देखाएको हो ।
नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपाल विद्युतीकरण तथ्याङ्क २०७७ अनुसार मधेश प्रदेशमा लगभग सबै जनसङ्ख्याले विद्युत् उपभोग गर्न पाएका छन् भने सबभन्दा कम कर्णाली प्रदेशको ५६.७९ प्रतिशत र सुदूरपश्चिमको ७८.८५ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट रहेको छ ।
४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण
यो प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ भने २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा प्राधिकरणले विद्युत् पु¥याउन सकेको छैन तर यी स्थानीय तहका केही स्थानमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य ऊर्जा तथा लघु जलविद्युत्मार्फत बिजुली बालेको छ ।
४२ जिल्लामा पूर्ण विद्युतीकरण
७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ भने १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत र १० जिल्लामा ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ । यसैगरी सात जिल्लामा २५ देखि ५० प्रतिशत र चार जिल्लामा शून्यदेखि २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ ।
सो प्रतिवेदनअनुसार डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघु जलविद्युत्मार्फत विद्युतीकरण गर्ने प्रयास भइरहेको छ । गाेरखापत्र
