बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, न्हु दया, छठ र उँधौलीको अवसरमा कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य क्षेत्रलाई अझै अध्ययन–अनुसन्धान गरी उत्खनन् गर्दै संरक्षण र विकास गर्नुपर्ने बताए ।

शुभकामना राख्ने अतिथिहरूमा साहित्यकार तथा सङ्गीतकर्मी मधु गुरुङ, नेकपा (एमाले), बेलबारी नगर अध्यक्ष इरान राई, नेपाली काङ्ग्रेसका पूर्व नगर सभापति तथा नाट्यकर्मी शम्भु भट्टराई, नेकपा (माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष राम किराँती, जसपा, बेलबारी नगर उपाध्यक्ष कमल गुरुङ तथा बेलबारी नगरका जनप्रतिनिधिहरुका तर्फबाट वडाध्यक्ष योगेन्द्र सुवेदी थिए ।

उनीहरुले शुभकामना मन्तव्य राख्दै प्रतिष्ठानले नगरभित्रका सबै भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य विधाको विकास गर्नुपर्ने बताए ।

वडाध्यक्षहरू कृष्ण गुरुङ, डिल्ली ब. कटुवाल, विक्रम बान्तावा तथा नगर सभा सदस्यहरू रामकुमार घिमिरे र तारा सुन्दासलगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रममा गजलकार जेबी थुलुङले गजल वाचन गरेका थिए भने विवेश मोते, लक्ष्मी पौडेल तथा मौसम नेपालीले गीत गायन गरेका थिए ।

शुभकामना कार्यक्रम प्रज्ञा समितिकी अध्यक्ष रेखा सुवेदीले अध्यक्षता, सचिव कुलप्रसाद बरालले सञ्चालन, उपाध्यक्ष मनकुमार गुरुङले स्वागत मन्तव्य तथा उपाध्यक्ष अजितकुमार धिमालले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा प्रज्ञा समितिका पदाधिकारी तथा सदस्यहरूको परिचयसमेत गराइको थिइयो भने १०० भन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।