धरान उपमहानगरपालिकाका वडाअध्यक्ष तथा नगरकार्यपालिका सदस्यहरुले आज पत्रकार सम्मेलन गरी नगरप्रमुख हर्क साम्पाङ अराजक र स्वेच्छाचारी बनेको बताएका छन् ।

उपमहानगरपालिकाको आज बोलाइएको कार्यपालिकाको बैठक चल्न नसकेपछि वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुसहित २८ जनाले संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख साम्पाङ अराजक र स्वेच्छाचारी भएको बताए ।

उनीहरुले प्रमुख साम्पाङको अराजक शैलीकै कारण कार्यपालिकाको बैठक चल्न नसकेको बताए ।

प्रमुख साम्पाङलाई कार्यपालिका सदस्यहरुमाथि गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएकोमा आत्मआलोचना गर्न आग्रह गर्दा पनि उनले ‘तोकआदेशको भरमा नगरपालिका चलाउँछु’ भन्दै वातावरण बिगार्दा बैठक बस्न नसकेको उनीहरुको भनाइ छ ।

साम्पाङमाथि विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, विनानिर्णय साबुन फ्याक्ट्री निर्माण सुरु गरेको, वीपी पार्कको नाम विनानिर्णय परिवर्तन गरी आफ्नाे फोटो राखेर श्रम संस्कृति पार्क नामाकरण गरेको, सामाजिक सञ्जालमा तुच्छ शब्द प्रयोग गरेको, जातीय सद्भाव बिगार्ने गरी ‘चमारे’ शब्द प्रयोग गरेको, सेवाग्राहीमाथि हप्कीदप्की गरेको र कर्मचारीहरुलाई समेत अपमान गरेको लगायत आरोप छ ।