रुपन्देही । प्रहरीले सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती करणी गर्न खोजेकाे अभियाेगमा एक व्यक्तिलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्ने व्यक्ति रुपन्देही जिल्लास्थित कञ्चन गाउँपालिका वडा नं ३ का ३० वर्षीय राजेन्द्र अधिकारी हुन् ।

उनले गत पुस २१ गते साँझकाे समयमा घरमा काेही नभएकाे बेला शारिरीक रुपमा अपांगता र सुस्त मनस्थिति भएकी २३ वर्षीया महिलालाइ करणी गर्न खाेजेकाे प्रहरीले जनाएकाे छ ।

त्यसैगरी रुपन्देहीकै सैनामैना नगरपालिकाको वडा नं ६ की १५ वर्षीया बालिकालाई अभिभावक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बहानामा जबरजस्ती करणी गर्न खाेज्ने २५ वर्षीय मधु सोमरेलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उनले करणी गर्ने मनसायले ती बालिकाकाे संवेदनशील अंगहरु छुने चलाउने काम गरेकाे प्रहरीले जनाएकाे छ ।

बालिकाले आफूलाई जबरजस्ती करणी गर्न खाेजेकाे छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर गरिएकाे थियाे र प्रहरीले तत्काल पक्राउ गरेकाे हाे ।

बालिकाकाे आमा बिदेशमा छिन् भने घटना भएकाे बेला बुबा पनि घर बाहिर थिए ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय सालझन्डीमा राखेर जबरजस्ती करणी उद्योग कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।