काठमाडौं । किरात समुदायको नयाँ वर्ष ‘येले संवत्’ ५०८३ आज (आइतबार) देखि सुरु भएको छ । किरातीहरुले हरेक माघ १ गतेलाई नयाँ सालको पहिलो दिनको रुपमा मनाउने गरेका छन् ।

येले सम्वत् पहिलो किराती राजा ‘यलम्बर’को नाममा सुरु भएको हो । यसलाई लिम्बूहरुले ‘येले तोङ्बे’, राईहरुले ‘येले दोङ’ र सुनुवारहरुले ‘येले थोचे’ भन्छन् ।

यलम्बरलाई नेपालको प्रथम किरात राजाको रुपमा इतिहासकारहरुले मानेका छन् ।

शाह, मल्ल, लिच्छवी अघिका प्रथम किरात वंशका राजा यलम्बरले आफ्नाे शासन सुरु गरी प्रयोगमा ल्याएको सम्वत्लाई नै ‘येले संवत्’ भनी किरात समुदायले मान्दै आएका छन् ।

तर यलम्बरले शासन सुरु गरेको कालखण्ड गणनाका आधारमा यस वर्ष येले संवत् ३८०२ हुन्छ ।

किरातजन्य संस्थाको पहलमा निर्माण गरिएको येले संवत् अध्ययन समन्वय समितिले खोज अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका यस वर्ष (सन् २०२३) मा येले सम्वत् ३८०२ हुने हो । जसमा राजा जयस्थिति मल्लले लेखाएको गोपालराजवंशावली लगायतलाई आधार मानिएको छ ।

तर किरातजन्य संस्था र आम किरातीहरुले भने प्रचलनका आधारमा यस वर्ष ५०८३ मनाउन लागेका हुन् ।

किरातजन्य आठ संस्था रहेको किरात समन्वय समितिले येले संवत् ५०८३ को शुभकामना दिएको छ ।

‘किरातीहरुको नयाँ वर्ष येले संवत् ५०८३ को सुखद अवसरमा संसारभरि रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं,’ शुभकामनामा भनिएको छ ।

सुरेल जाति उत्थान समाजका अध्यक्ष सुवास सुरेल, किरात हायु समाजका अध्यक्ष धनबहादुर हायु, जिरेल संघ नेपालका अध्यक्ष टहलबहादुर जिरेल, नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामी, किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगु, सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन र किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले संयुक्त रुपमा शुभकाना सन्देश जारी गरेका हुन् ।

यता यलम्बर फाउन्डेशनले येले सम्वत् ३८०२ को शुभकामना दिएको छ ।

फाउन्डेशनले अहिलेसम्मको खोज र अनुसन्धानबाट प्रमाणित हुन आएको कालखण्डको गणना अनुसार नै येले सम्वत् चलाउनुपर्ने तर्क गर्दै आएको छ ।

यायोक्खाले माघ १ गतेलाई ‘यलम्बर दिवस’को रुपमा पनि मनाउने गरेको छ ।

आज यायोक्खा, चुम्लुङ, सुनुवार समाजसहितका सबै किरातजन्य संस्थाहरुले आ-आफ्नाे समुदायमा नयाँ वर्षको विभिन्न कार्यक्रम गर्दैछन् ।