दसैँको टिकाकै दिन झुन्डुवामा रिदामा-रामलिहाङ स्मृति सभा

दसैँ मान्न अस्वीकार गरेको आरोपमा तत्कालीन शासकद्वारा हत्या गरिएको रिदामा आठपहरिया र रामलिहाङ आठपहरिया राईको सम्झनामा धनकुटा नगरपालिका–७, झुन्डुवामा मंगलबार स्मृति सभा गरिएको छ ।

दसैँ नमान्ने आदिवासी जनजाति तथा स्थानीय आठपहरिया समुदायका अगुवाहरुले दसैँको टिकाकै दिन पारेर झुन्डुवामा स्मृति सभा गरेका हुन् ।

कार्यक्रममा विभिन्न वक्ताहरुले रिदामा र रामलिहाङ हत्याको प्रसंगका साथै गोरखा राज्य (हिन्दु)ले माँझ किरातसँग पटक पटक युद्ध गरेको प्रसंग निकालेका थिए ।

स्मृति सभाको आयोजना भने किरात आठपहरिया समाज धनकुटा जिल्लाले गरेको हो ।

पत्रकार तथा इतिहासका अध्येता राजकुमार दिक्पालका अनुसार वि.सं १९३३ मा रिदामा र रामलिहाङको हत्या गरिएको थियो ।

धनकुटाका युवा दिलबहादुर आठपहरिया राईका अनुसार रिदामा र रामलिहाङलाई चरम् यातना दिएर अन्त्यमा झुन्डाएर मारिएपछि सो स्थानको नाम नै झुन्डुवा हुन गएको बताए ।

झुन्डुवामा हाल रिदामा र रामलिहाङको पूर्णकदको प्रतिमा सहित पार्क निर्माण गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्