खोटाङस्थित साकेला गाउँपालिकाको बेरुजु रकम १४ करोड ६६ लाख पुगेको छ ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन–२०७९ अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा गाउँपालिकाको बेरुजु बढेर १४ करोड ६६ लाख २ हजार रुपैयाँ पुगेको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड ६३ लाख ६७ हजार रुपैयाँ बेरुजु थपिएको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सरकारको रुपमा गाउँपालिका र नगरपालिका गठन भएपछि र निर्वाचित जनप्रतिनिधिहरु आइसकेपछि समेत गाउँपालिका र नगरपालिकाहरुमा बेरुजु रकम बढेको बढ्यै छ ।
२०७२ सालमा संविधान निर्माण हुनुअघिको २० वर्षसम्म तत्कालीन गाउँ विकास समिति (गाविस) र नगरपालिकाहरु जनप्रतिनिधिविहीन थिए ।
त्यस समयमा भन्दा अहिले बेरुजु बढ्न थालेको देखिन्छ ।
बेरुजु बढ्दा आर्थिक अनियमितता र भ्रष्टाचारको मात्रा पनि स्वतः बढ्ने गर्छ ।
प्रतिवेदनमा साकेला गाउँपालिकाले गरेका दर्जनौँ गैरकानुनी कार्यहरु उल्लेख गरिएको छ ।
पालिकाले कानुन विपरित करारमा कर्मचारी राखेको, कर्मचारीहरुलाई कानुन विपरित भत्ता वितरण गरेको, बिल तथा भर्पाइबिना भुक्तानी गरेको, जथाभावी आर्थिक सहायता वितरण गरेको, वित्तीय विवरणहरु ठिक तरिकाले नराखेको लगायत विषय उल्लेख छ ।