विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
उर्लाबारी ३ की ६२ वर्षीया शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर अन्तिम समयमा दलित भन्दै बाहिर निकालेको बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी उनले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन् ।
२०८० मंसिर १४ गते उर्लाबारी नगरपालिका वडा नं ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न आएको तर दलितहरुलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई आश्रमबाट हटाइदिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन् ।
हाल नेपाल छुवाछुत मुक्त देश भइसक्दा समेत दलितमाथि हेलाहोचो गरेको हुँदा विपक्षीलाई झिकाइ कारबाही गरी पाउँ भनेर उनले उजुरी गरेकी हुन् । -राताेपाटीबाट