आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ नेपालले ५७ वर्षीय बलबहादुर विश्वकर्मालाई जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्ने झापास्थित कन्काई नगरपालिका–५ टेक्रा दार्जेलिङ टोलका मोहन घिमिरेलाई हदैसम्म सजाय दिन माग गरेका छन् ।

घिमिरेले गत चैत २३ गते सोमबार सोही ठाउँका बलबहादुर विश्वकर्मालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएको विश्वकर्माको उपचारकै क्रममा गत बिहीबार मृत्यु भएको थियो ।

महासंघका अध्यक्ष राजन मुकारुङले आज एक प्रेस विज्ञप्ति जारी गरी घिमिरेलाई हदैसम्मको सजाय दिन र पीडित पक्षलाई न्यायिक क्षतिपूर्ति दिन माग गरेका हुन् ।

आर्थिक रुपमासमेत कमजोर रहेको विश्वकर्मा परिवारलाई घिमिरेले उच्च जातीय अहंकार देखाउँदै बारम्बार सामाजिक बहिष्कार गर्ने गरेको महासंघले जनाएको छ ।

‘आर्थिक रुपमा समेत कमजोर रहेको विश्वकर्मा परिवारलाई सामाजिक रुपमा पनि निज मोहन घिमिरेले कथित् उच्च जातीय दम्भका साथ बारम्बार बहिष्कृत गर्ने गरेको यस महासंघको प्रतिनिधिहरुको स्थलगत अध्ययनले देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एक्काइसौं शताब्दीको यो कालखण्डमा समग्र विश्व नै विकासका लागि फड्को मारिरहेको छ तर नेपाली समाज भने एकल जातीय हर्कतको विभेदमा फसिरहनु अत्यन्त खेदजनक छ ।’

राज्यले आफ्नाे विभेदकारी नीति परिवर्तन नगर्दा तथा अपराधीहरुलाई कठोरतापूर्वक दण्डित नगर्दा यस्ता खालका घटनाहरु बढिरहेको महासंघले ठहर गरेको छ ।