सरकारी अनुदानकाे १३० बाेरा मल बाटैमा गायब

स‌ंघीय सरकारले अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाएको मल बाटोबाट हराएको पाइएको छ ।

बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको २०० बोरा (प्रतिबोरा ५० किलो) संघीय सरकारले अनुदानमा पठाएको थियो ।

त्यसमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेश भएको छ भने बाँकी एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञानकेन्द्र, कृषि सामग्री कम्पनीका प्रमुख समेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गरेको थियो ।

सहकारीले प्रचलित कानूनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐन बमोजिम दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए ।

अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल सिल गरिएको छ भने गायब भएको १३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्