सूचना लुकाउने कार्यालय प्रमुख बान्तावालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश

सूचना लुकाउने सप्तरीस्थित कोशी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रदिप बान्तावालाई सात दिनभित्रमा लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि कार्यवाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको माघ २५ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो ।

पत्रकार यादवले आर्थिक वर्ष २०७९/८० र हालसम्म सम्पन्न स्थानसमेत उल्लेखित सबै योजनाहरुको आर्थिकसहितको भौतिक प्रगति विवरण र प्रक्रियाको आवश्यक कागजात, आर्थिक वर्ष २०७९/८० र हालसम्म कार्यालयमा खरिद गरिएको समानको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजात, आर्थिक वर्ष २०७९/८० र हालसम्म मर्मतमा खर्चिएको बजेट विवरणसहित प्रक्रियाको आवश्यक कागजात, आर्थिक वर्ष २०७९/८० र हालसम्म खर्चिएको कुल बजेट (योजनाको शिर्षकअनुसार)को विवरण लगायतको सूचना माग गरेका थिए ।

गत पुस १८ गते कार्यालयका सूचना अधिकारी एकराज भट्टराईसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत माघ १० गते कार्यालय प्रमुख बान्तावासँग सूचना मागेका थिए ।

तर बान्तावाले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए ।

पुनरावेदन पत्रका आधारमा आयोगले प्रमुख बान्तावालाई दफा १० (२) बमोजिम सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्