नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को बार्षिक देउसी-भैलाे कार्यक्रम र्याफलका साथ सम्पन्न भएको छ ।
फिवनाले स्थापनाकालदेखि नै तिहारको अवसरमा देउसी-भैलाे कार्यक्रम गर्दै आएकाे छ भने गतबर्षदेखि र्याफलको पनि आयोजना गर्न थालेकाे हाे ।
दुई चरणमा बिभाजित उक्त देउसी कार्यक्रमकाे प्रथम चरणमा औपचारिक र दोस्रो चरणमा नाच-गान र र्याफलकाे कार्यक्रम राखिएकाे थियाे ।
औपचारिक कार्यक्रममा सामाजिक अभियान्ता तथा युनाइटेड किरात राई अर्गनाइजेशनका उपाध्यक्ष केशवराम राईले शुभकामना मन्तव्य राखेका थिए ।
उनले फिवनाले अमेरिकाको स्थानीय सरकारहरुसँग पनि सहकार्य गर्दै सम्बन्धलाई मजबुद बनाउदै अघि बढ्नुपर्ने सुझाव दिए ।
फिवनाको इतिहास सम्झदै उनले भने, “हिजो दुई तिन जना दिदीबहिनीले सुरु गरेको संस्थाले यति धेरै रचनात्मक कामहरु गर्न थालेकाेमा गर्व लागेको छ । यद्धपि, अझै पनि नेपाली महिलाहरुलाई सशक्तिकरण गर्नुपर्ने छ । जस्तै अमेरिकाकाे राजनीतिमा पनि महिलाहरु अब तयार हुनुपर्छ र त्यसका लागि सशक्तिकरणकाे भूमिका फिवनाले खेल्नुपर्छ ।“
फिवनाकाे महासचिव इन्दु लामाछानेले सञ्चालन गरेकाे कार्यक्रममा सदस्य सरस्वती तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रमकाे प्रमुख अतिथि भने सबैभन्दा पाकाे उमेरकी पृथ्बीलक्ष्मी राई थिइन् ।
औपचारिक कार्यक्रमको अन्त्य गर्दै अध्यक्ष इन्दिरा चोङबाङले कार्यक्रमको औचित्यबारे प्रकाश पारिन्, र फिवनाले महिला भएकै कारण विभिन्न चुनौतीहरु सामाना गर्नुपरेकोले अन्य विविध गतिबिधिहरु कमी रहेको पनि बताइन् ।
उनले विभिन्न शुभचिन्तकहरुबाट प्राप्त भएको दक्षिणा रकम लगायत विभिन्न माध्यमबाट संकलन गरिएकाे रकमहरु महिलाहरुकाे आपत्कालिन समय तथा मातृभूमि नेपालमा पनि विभिन्न समयमा सहयोग गर्दै आएको अवगत गराइन् ।
औपचारिक कार्यक्रमको अन्त्यपछि मातृभूमिको सम्झना ताजा गराउने परम्परागत शैलीमा देउसी-भैलाेसँगै नाच-गान गरिएकाे थियाे ।
र्याफलकाे प्रथम पुरस्कार आइफोन १६ सामाजिक अभियान्ता केशवराम राईलाई नै परेको थियो भने उनले उक्त पुरस्कार प्रमुख अतिथि पृथ्वीलक्ष्मी राईलाई उपहार स्वरुप हस्तान्तरण गरे ।
दोस्रो पुरस्कारमा नगद २०० डलर र तेस्रोमा चार जनालाई ५०-५० डलर थियाे ।