गत २१ माघ गते विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।
तिगेलाले भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक ५ लाख खर्च गरि खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको एकछेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरि, प्रवेश गेटमा फलामको ढोका लगाई, खेलमैदानको वरिवरि तारजाली लगाएर एक औपचारिक कार्यक्रममा दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बू र विद्यालयको प्रधानाध्यापक भिमबहादुर लिम्बूलाई हस्तान्तरण गरेका हुन् ।
तिगेलाले सो जग्गा २०६९ सालमा १ लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए भने सोही विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन २०६६ मा ५० हजार प्रदान गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिले दाता तिगेलाले किनेर, बनाएर दिएको खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण गरेका छन् ।
खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गिता खेवाले गरेकी थिइन् ।
उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गरिन साथै बनेको खेलमैदानमा बार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिकामार्फत् पहल गर्ने प्रतिबद्धता समेत जनाइन् ।
त्यस्तै गरि वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बूले विद्यालयलाई साच्चै आवश्यकता परेको बखत जग्गा किनिदिने दाताप्रति आभार ब्यक्त गरे ।
विद्यालयका प्रधानध्यापक भिमबहादुर लिम्बूले तिगेलाले गरेकाे योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामकरण गरिएकाे बताए ।
विद्यालयको तर्फबाट दाता दम्पतिलाई दोसल्ला ओढाइ सम्मान गरे भने तिगेलाले आफूलाई पढाउने गुरु भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाइदिएर सम्मान ब्यक्त गरे ।
तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधै सम्झने, सम्मान गर्ने गरेको बताए ।
आफूसँग प्रसस्त पैसा भएर होइन, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व महसुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको बताए ।
निकट भविश्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय श्री शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको, करिब डेढ दशक अघि कम्युटर सहयोग गरेका थिए, विद्यालयको निम्ति सो कम्पियुटर पहिलो थियो ।
पटकपटक खेलकुदको सामाग्री प्रदान गरेका थिए । त्यस्तैगरी, तिसमुरे डाँडामा ४ कोठे सिरिजङ्गा प्राथमिक विद्यालय निर्माण गर्दा पुरै च्यादर र काठ किनिदिएका थिए ।
सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थीहरूले करिब दर्जन भन्दा बढी गीत र नृत्य प्रस्तुत गरेका थिए ।
सो कार्यक्रमको सभापतित्व होमकुमार लिम्बूले गरेका थिए भने संचालन शिक्षक प्रेम कार्कीले गरेका थिए ।
