मुस्लिम महिलाहरूकाे आत्मनिर्भर एवं नेतृत्व विकास सम्बन्धी तीनदिने तालिम नेपालगन्जमा सुरु भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार तालिमकाे उद्घाटन गरेका हुन् ।

साे क्रममा मन्त्री तिमिल्सिनाले महिलाहरूकाे क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउँदै तालिममा महत्वका साथ सहभागी भएर सिक्नुपर्ने बताए ।

उनले मुस्लिम समुदायका महिलाहरूले विभिन्न समस्याहरूको सामना गर्नु परिरहेको बताउँदै आफ्नो हक अधिकारका लागि पैरबी गर्न आवश्यक रहेको बताए ।

पछाडि परेका महिलाहरूकाे हक अधिकार र स्वतन्त्रताका लागि तालिम उपयागी हुने बताउँदै उनले भने, “अधिकारका लागि आफै आजैबाट जाग्न जरुरी छ । समाज रूपान्तरणका लागि आवश्यक तत्वहरू के के हुन् भन्ने कुरा तालिमबाट सिक्न सकिन्छ ।”

तालिममा लम्बिनी प्रदेश सभा सदस्य मिना सिद्दिकी बोहराले मुस्लिम महिलाहरू यसरी तालिममा सहभाही भएको देख्दा निकै हर्षित भएको बताउँदै तालिमबाट मुस्लिम महिलाहरूले आफ्नो अधिकारकाे बारेमा जानकार हुने बताइन् ।

उनले भनिन्, “हाम्रो समुदायमा गर्न बाँकी अझै धेरै कामहरू छन्, आफ्नो हक अधिकारका लागि हामी आफै अघि बढ्नु पर्छ ।”

सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख उद्धव प्रसाद श्रेष्ठले तालिममा सक्रिय सहभागिता जनाएर तालिमका विषयवस्तुलाई आत्मसाथ गर्न सहभागीहरूसँग अनुरोध गरे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, महिलाको अवस्था र महिलावाद, नेतृत्व विकास, सकारात्मक सोच लगायत विषयमा सहजीकरण गरेका थिए ।

तालिममा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका ९० जना मुस्लिम समुदायका महिलाहरूकाे सहभागिता रहेकाे छ ।