वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको आइतबार ७८ वर्षको उमेरमा निधन भएको छ ।
५ वर्षदेखि प्रोस्टेट क्यान्सरसँग जुधिरहेका उनको ललितपुर हात्तिवनस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको हो ।
रसिकको एक मात्र छोरी बेलायतबाट सोमबार फर्किएपछि उनको अन्त्येष्टि गरिनेछ ।
करिब पाँच दशकअघि लेकाली समूहबाट गायन क्षेत्रमा उदाएका रसिक नेपाली संगीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् ।
उनका गीत, लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुती र गम्भीर अर्थ भेटिन्छन् ।
उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् ।
उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं २ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।
रसिकले बीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रही विविध जिम्मेवारी निर्वाह गरे ।
रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक ९२०३८ (२०४००, सांस्कृतिक संस्थानको महाप्रबन्धक ९२०४०(२०४६०, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक ९२०५२(२०५५०, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव ९२०७२(२०७५० जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरे ।
नेपाली गीत सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक ।
जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन् ।
