नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरू नरहेको बताएका छन् ।
बिहीबार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरू विश्वमै सकिसकेको बताउँदै नेपालमा भने केही बढिरहेको बताए ।
उनले अहिलेका कम्युनिष्टहरू विगतका कम्युनिष्टहरूजस्तो नरहेको जिकिर गरे ।
कम्युनिष्टहरू अहिले डेमोक्रेट भइसकेको बताउँदै आजका कम्युनिष्टहरूलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गरे ।
उनले अहिलेको संविधान अनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उनीहरूलाई कम्युनिष्ट भनिरहनु नपर्ने उल्लेख गरे।
‘संसारभर खत्तम भइसक्यो तर नेपालमा कम्युनिष्ट बढेको बढ्यै छ । हुन त कम्युनिष्टहरू हिजोको जस्तो कम्युनिष्ट छैनन् । उनीहरू डेमोक्रेट भइसकेको छ । आजको कम्युनिष्टलाई कम्युनिष्ट नै भन्न मिल्दैन,’ उनले भने ।
उनले थपे, ’तर, मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरूलाई कम्युनिष्ट भनिरहनु पनि पर्दैन तर उनीहरू मल्टीपार्टी डेमोक्रेटिकमा अडप्ट भइसकेका छन् । नाम मात्रै बदल्न बाँकी छ ।’
