बलात्कारपछि किशोरीको हत्या गर्ने एक जना शिक्षकलाई जिल्ला अदालत गुल्मीले आजीवन काराबासको सजाय सुनाएको छ ।

बुधबार जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले बाँकेको खजुरा गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय रहिस खाँलाई आजीवन कैद, पाँच लाख रुपैयाँ जरिवाना र तीन लाख क्षतिपूर्तिको फैसला सुनाएको सूचना अधिकारी कमल पन्थीले बताए ।

शिक्षक खाँले गुल्मीको चन्द्रकोटमा मदरसामा पढाउँदै आएका थिए ।

खाँमाथि २०८० कात्तिक १६ गते बाग्लुङको बरेङ गाउँपालिका घर भई पछिल्लो समय गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा अभिभावकसँगै बस्दै आएकी १५ वर्षीया एक किशोरीको बलात्कारपछि हत्या गरेको अभियोग थियो ।

त्यो दिन अभिभावकले पठाएपछि खेतमा धान काट्दै गर्दा सुर्ती किन्न भनेर गएकी किशोरी फर्किएकी थिइनन् ।

खोजी गर्ने क्रममा किशोरीको शव स्थानीय हुग्दी खोलामा फेला परेको थियो । उक्त घटनापछि अनुसन्धानका क्रममा शिक्षक खाँ पक्राउ परेका थिए ।