वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठलाई विशेष अदालतले समाचार सामग्रीका आधारमा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर आपत्ति जनाएको छ।
शाखाका सचिव रमेश कुमार बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार दृष्टि न्यूज अनलाइनमा प्रकाशित ‘विशेष अदालतमा विचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित हुन आदेश दिइनु प्रेस स्वतन्त्रतामाथिको प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “विचौलिया, भ्रष्टाचार र न्यायपालिकाभित्रको अपारदर्शिता उजागर गर्नु पत्रकारको धर्म हो । तथ्यमा आधारित समाचार लेखेकै कारण पत्रकारलाई कारबाहीको प्रक्रियामा तान्नु अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात हो।”
काठमाडौं शाखाको ठहरमा अदालतको यस्तो आदेशले स्वतन्त्र पत्रकारिता, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रता सबैमाथि हस्तक्षेप गरेको छ।
“तीन दिनको अल्पावधिमा अदालतमा उपस्थित हुन दिने र औपचारिक रूपमा आदेश बुझ्नसमेत नपाउने शैलीले अदालतको मर्यादामाथि पनि प्रश्न उठाएको छ”, विज्ञप्तिमा भनिएको छ।
पत्रकार श्रेष्ठ चार दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा क्रियाशील छन्।
उनी प्रजातान्त्रिक आन्दोलनका अग्रपङ्क्तिमा रहेर लेखनमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। यस्तो व्यक्तिलाई अदालतमा झिकाउनु लोकतान्त्रिक मूल्यमान्यतामाथिको अवहेलना भएको शाखाको टिप्पणी छ ।
