युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका, न्यूयोर्क च्याप्टरले साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न गरेको छ।
किरात समुदायको मौलिक चाडको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कस्थित नेपाली कन्सुलेट महावाणिज्यदूत दधिराम भण्डारीले अमेरिका बसाइ र व्यस्त समयका बाबजुद संस्कृतिमूलक तथा महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरे।
च्याप्टरका अध्यक्ष अरुण राईले कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरूप्रति आभार प्रकट गरे।
कार्यक्रममा युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघकी अध्यक्ष बसन्ती राईले स्वागत मन्तव्य दिएकी थिइन्।
एनआरएनए अमेरिका तथा फिप्नाका पूर्व अध्यक्ष एवं युनाइटेड किरात राईका पूर्व सभापति शिवकुमार राईले संस्थाको गतिविधिबारे जानकारी गराएका थिए।
आदिवासी जनजाति महासंघ अमेरिकाका केन्द्रीय सभापति तोरण गुरुङले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण सबैको दायित्व भएको उल्लेख गरे।
नेपालबाट कार्यक्रमको अवलोकनका लागि उपस्थित संस्थाका केन्द्रीय अध्यक्ष प्रभाकर राईकी आमा लक्ष्मी राईले साकेलाको शुभकामना दिएकी थिइन्।
विशेष अतिथि तथा प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सचिवालय सदस्य राधाकृष्ण देउजाले सबै नेपालीहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउँदै शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष डन्डु शेर्पाले समानुपातिक तथा समावेशी अधिकारप्रति नेपाल सरकार उदासीन भएको भन्दै गुनासो गरे।
त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, महिला उपाध्यक्ष लक्ष्मी थापा, संस्थापक अध्यक्ष प्रभाकर राई, संस्थाका संरक्षक विष्णु राई, निवर्तमान अध्यक्ष ममता खालिङ राई, उपाध्यक्ष तथा साकेला थान संयोजक मुक्ति वान्तवा राई, केन्द्रीय सञ्चार संयोजक शेखर राई, किरात राई सोसाइटी अफ न्यूयोर्क च्याप्टरका सभापति सम्भु राई लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, शेर्पा किदुङका सुमदोर्जे शेर्पा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सभापति पुरन पयाङ्गु लिम्बु, वरिष्ठ गायक सपनाश्री, फिप्नाका महासचिव दीपक चौधरी, सचिव शान्ति गुरुङ, कोषाध्यक्ष कृष्ण महर्जन, मगर संघ अमेरिका च्याप्टरका अध्यक्ष रत्न सिंह गुरुङ, सामाजिक अभियन्ता तथा अन्तर्राष्ट्रिय रेफ्री पर्खि खालिङ राईलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वयमसेवक संयोजक जिङ्मी लामा र चलचित्र निर्देशक दिनेश लिङदेनलाई विशेष सम्मान गरिएको थियो। पाँचथरको याङ्वरक गाउँपालिका–४ स्थायी घर भएका निर्देशक लिङदेन विगत २५ वर्षदेखि नेपाली चलचित्रमा सक्रिय रहँदै भाषा, संस्कार र कलाको प्रवर्द्धनमा योगदान दिँदै आएका छन्।
कार्यक्रममा नछुङ पदमबहादुर राईले साकेला पूजा गर्दै सहभागीलाई टीका तथा आशिर्वाद दिएका थिए।
सम्पूर्ण कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सिर्जना बाहिङले गरेकी थिइन्।
