जिल्ला अस्पताल खोटाङ ५० शय्यामा स्तरोन्नति, सेवा शुभारम्भ

पर्याप्त बजेट विनियोजन, कर्मचारी दरबन्दी बढ्यो

जिल्ला अस्पताल खोटाङलाई १५ बेडबाट ५० बेडको अस्पतालमा स्तराेन्नति गरिएको छ।

आइतबार एक औपचारिक कार्यक्रममार्फत कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले ५० बेडको अस्पतालको सेवा शुभारम्भ गरे।

गत जेठ १२ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्री राईकै प्रस्तावमा जिल्ला अस्पताललाई ५० बेडमा स्तराेन्नति गर्ने निर्णय गरेको थियो।

मन्त्री राईका अनुसार हालका लागि करारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू राखेर सेवा दिनका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ।

मन्त्रिपरिषद्ले ८औं तहका डाक्टरसहित २९ जना कर्मचारीको दरबन्दी रहेको अस्पताललाई ११औं तहका विशेषज्ञ डाक्टरसहित ५९ जनाको दरबन्दीमा विस्तार गर्ने निर्णय गरेको थियाे।

सेवा सुरु गर्नुअघि शनिबार अस्पतालमा थ्रीडी युएसजी (अल्ट्रासाउण्ड) मेसिन जडान गरिएको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपेश संग्रौलाका अनुसार, उक्त मेसिनमार्फत मुटु, मिर्गौला, पित्तथैलीका पत्थरी र गर्भवती महिलाको भ्रूणको अवस्था सहज र स्पष्ट रूपमा पहिचान गर्न सकिनेछ।

विराेध र तर्क

तर, अस्पतालको नयाँ भवन निर्माण कार्य पूरा नहुँदै सेवा शुभारम्भ गरिएको भन्दै केहीले विरोध जनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका सभापति मुकुन्द कृष्ण थापाले शनिबार विज्ञप्ति निकालेर ‘असमय र अनावश्यक कदम’ भन्दै विरोध जनाए।

भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई।

तर, मन्त्री राईले भवन निर्माण अधुरो रहेको जानकारी हुँदाहुँदै पनि पर्याप्त बजेट विनियोजन भइसकेको हुँदा सेवा सुरु गर्नु जरुरी रहेको तर्क गरे।

‘५० बेडको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारले पर्याप्त बजेट बिनियोजन गरेकाे छ,’ उनले भने, ‘भवन निर्माण अलपत्र छ भन्ने मलाई पनि थाहा छ । भोलि कोही व्यक्ति केही गरी सिकिस्त भएर आउनुभो र हेलिकोप्टरबाट बाहिर लानुभो भने सबैभन्दा बढी गाली मैले खान्छु । तर, अहिले शुभारम्भ नगर्ने हो भने कहिले गर्ने?’

उनले थपे, ‘हामीले ३० लाखको मेसिन ल्याएर हिजो जडान गरिसक्यौं, त्यसबाट काम सुरु भइसकेको छ । आज हामीले सेवा सुरु गरेको थिएनौ भने त्यो उपकरण यहाँ आउँथ्यो?’

उनले ऐन नबनेसम्म तथा लोकसेवाबाट स्थायी कर्मचारी आउने व्यवस्था नभएसम्मका लागि करारमा चिकित्सक तथा कर्मचारी राखेर सेवा सञ्चालन गर्न सकिने गरी प्रदेश सरकारले पर्याप्त बजेट विनियाेजन गरेकाे बताए।

‘जनशक्तिका लागि अस्पतालले मन्त्रालयसँग स्वीकृति लिएर चलाउँछौं भन्नुहुन्छ भने स्वीकृति लिएर चलाउने गरी बजेट पठाइदिएका छौं,’ उनले भने, ‘भनेपछि चिकित्सकहरूकाे पनि अभाव छैन।’

निर्माणाधीन अस्पतालकाे भवन।

मन्त्री राईका अनुसार विगत वर्षहरूमा स्वास्थ्य क्षेत्रमा खोटाङमा ५ करोड हाराहारी बजेट आउने गरेकोमा आगामी आर्थिक वर्ष २०८२/८३ मा १६ करोड विनियोजन गरिएको छ।

खोटाङमा औषधी प्रशोधन केन्द्र स्थापनाका लागि पनि ३ करोड विनियाेजन गरिएकाे छ।

भवन निर्माण मंसिरसम्म

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईका अनुसार, अस्पतालको नयाँ भवन मंसिरसम्ममा निर्माण सम्पन्न हुने ठेकेदार कम्पनीको प्रतिबद्धता छ।

३० महिनाभित्र सक्ने गरी २०७८ असार २४ मा श्याम सुन्दर-रामसागर-नेपाल फुलबारी जेभी काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो।

भवनकाे लागत २२ कराेड ९० लाख ४७ हजार ९२ रुपैयाँ छ।

हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।

खाेप सुनिश्चितता जिल्ला घाेषणा

सोही अवसरमा खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला तथा दिगाेपना घोषणा गरिएको छ।

मन्त्री राईले खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरिसकेको जनाउँदै खोप सुनिश्चितता जिल्ला घोषणा गरे।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img