प्रधानमन्त्री केपी ओलीले केही दिनअघि ‘भगवान् शिव चाम्लिङ राई थरिका हुन सक्ने’ टिप्पणी गरेपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा र व्यंग्य भएको थियो।

कतिपय चाम्लिङ राईहरुले “आफू त भगवानकाे सन्तान पो रहेछु, बाटोमा भेट्दा पूजा गर्लान् कि” भन्दै रमाइला स्टाटसहरू लेखे भने केहीले प्रधानमन्त्री ओलीलाई ‘मुर्ख’ को संज्ञा दिए।

त्यसपछि, हालै मुन्धुम अध्येता भोगीराज चाम्लिङको एक पुरानो भिडियो क्लिप फेरि चर्चामा आएकाे छ, जसमा उनले प्रधानमन्त्री ओलीको भनाइ पूर्णतः गलत नहुन सक्ने तर्क गरेका छन्।

भोगीराज चाम्लिङका अनुसार किराती धामी वा नछुङहरूको पहिलो गुरु शिवजी नै थिए।

शिवले गलामा सर्प लगाउने गरेको र आज पनि किराती धामीहरूले सर्पको हड्डीको माला प्रयोग गर्ने परम्परा रहेको उनले बताए।

उनका अनुसार संस्कृतमा शिवको ताण्डव नृत्य भन्ने चलन नै धामीहरूले गर्ने सिली वा नाचलाई भनिएकाे हाे।

साथै, शिव बोन धर्म मान्ने समयमा नेता थिए र उनी बस्ने कैलाश पर्वत किराती धामीहरूको आध्यात्मिक केन्द्र रहेको चाम्लिङको भनाइ छ।

उनका अनुसार बोन धर्म मान्नेहरूले शिवलाई ‘शिदपा’ भन्ने गर्थे र यही शब्द परिवर्तन भएर संस्कृतमा ‘शिव’ भएको हो।

भोगीराज चाम्लिङका अनुसार शिव किरातीहरूको प्राचीन पुर्खा थिए र अहिलेको पशुपतिनाथ क्षेत्र उनीहरूको प्रमुख केन्द्र थियाे।

उक्त भिडियो करिब १० महिना अघि युट्युबर विश्व लिम्बूले आफ्नो पोडकास्टमार्फत सार्वजनिक गरेका थिए।

भिडियाे क्लिप

पुरा भिडियाेः