कोशी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णयअनुसार बिहीबार खोटाङको दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उक्त कार्यालयको उद्घाटन गरे।

खोटाङमा पूर्वाधार विकास कार्यालय नहुँदा प्रदेश सरकारबाट हुने विकास निर्माणका कामहरू उदयपुरको गाईघाटस्थित कार्यालय र सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाले हेर्ने गरेका थिए।

अबदेखि भने विकास निर्माणसम्बन्धी कामको सम्झौता गर्न तथा रकम निकासा गर्न अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको छ।

दिक्तेलको हाटडाँडामा एक निजी घरको चारवटा कोठा भाडामा लिएर अस्थायी रूपमा कार्यालय सञ्चालन गरिएको हो।

उक्त कार्यालयमा १३ जना दरबन्दी तोकिएको छ भने हालका लागि इन्जिनियर ललित कुमार चौधरीको नेतृत्वमा तीन जना कर्मचारी खटाइएको छ।

कार्यालयबाट सडक, पक्की पुल, झोलुङ्गे पुल, जनता आवास कार्यक्रम, सरकारी भवन लगायत निर्माण तथा मर्मतसम्बन्धी काम गरिनेछ।

नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री राईले हाल भाडाको कोठाबाट अस्थायी रूपमा कार्यालय सञ्चालन गरिएको भए पनि छिट्टै आफ्नै भवन निर्माण गरिने जानकारी दिए।