ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित माथिल्लो तमोर जलविद्युत आयोजनाको निर्माणस्थलमा शुक्रबार स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
याक्थुङ (लिम्बू) समुदायको पवित्र मुन्धुम स्थल अतिक्रमण गरेर जबरजस्ती आयोजना निर्माण गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन्।
प्रदर्शनकारीहरूका अनुसार मुन्धुम क्षेत्रको संरक्षणका लागि लामो समयदेखि ध्यानाकर्षण पत्र, ज्ञापनपत्र र संवादका माध्यमबाट आवाज उठाउँदै आएको भए पनि सरकार र सम्बन्धित पक्षहरूले बेवास्ता गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको जनाइएको छ।
प्रभावित क्षेत्रका स्थानीयले “अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समिति” गठन गरेर सुरुदेखि नै विरोध जनाउँदै आएका छन्।
सङ्घीय सरकारसहित विभिन्न निकायलाई ज्ञापन पत्र बुझाउँदै आयोजना रोक्न माग गरिए पनि बेवास्ता भएको भन्दै शुक्रबार निर्माण स्थलमै प्रदर्शन गरिएको हो।
संघर्ष समितिका अगुवा श्री लिङ्खिमले आयोजनाले याक्थुङ समुदायको मुन्धुम स्थलको अस्तित्व र पवित्रता मास्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे।
उनले आन्दोलन सुरु भएको लामो समय बितिसक्दा पनि सम्बद्ध पक्ष गम्भीर नबनेकाले अबको आन्दोलनको स्वरूप कडा र प्रभावशाली हुने चेतावनी दिए।
माथिल्लो तमोर जलविद्युत आयोजना अन्तर्गत तमोर इनर्जी प्रालिले २८५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित फक्ताङ्लुङ गाउँपालिका हुँदै बग्ने तमोर नदीमा आयोजना निर्माण सुरु गरेको हो।
