यू–२० महिला फुटबल खेलाडीहरू बायाँबाट पूर्णिमा राई, अनिशा राई र सिम्रन राई।
यू–२० महिला फुटबल खेलाडीहरू बायाँबाट पूर्णिमा राई, अनिशा राई र सिम्रन राई।

थुलुङ राई सामा केन्द्रीय सरोकार समितिले उदयीमान महिला फुटबल खेलाडीहरू यू–२० महिला फुटबल खेलाडी पूर्णिमा राई, अनिशा राई र सिम्रन राईलाई प्रोत्साहनस्वरूप जनही नगद २५ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरेको छ।

मंगलबार काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खा केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा उनीहरूलाई थुलुङ राई सामाका कार्यबाहक अध्यक्ष मुकुन्द राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, महासचिव भीम राई, यायोक्खाका सल्लाहकार चन्द्रविक्रम राई, समाजसेवी मनिकुमार राईलगायतले खादा लगाइदिएर सम्मान गरे।

सो अवसरमा कार्यबाहक अध्यक्ष मुकुन्द राईले राई समुदायका खेलाडीहरूलाई प्रोत्साहन दिने उद्देश्यले नगदसहित सहयोग गरिएको र आगामी दिनमा पनि संस्थागत सहयोग जारी रहने बताए।

उनले भने, ‘आज जे जति गर्न सक्यौं, यो विशुद्ध प्रोत्साहनस्वरूप गरिएकाे सहयोग हाे। आगामी दिनहरूमा पनि संस्थागत रूपमा गर्न सकिने सहयोग गर्नेछौं।’

यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले खेलाडीहरूको सम्मानका लागि कार्यक्रम आयोजना गरेकोमा थुलुङ राई सामालाई धन्यवाद दिँदै, सम्मानित खेलाडीहरूलाई राष्ट्रको शिर उचो पार्ने गरी मिहिनेत गर्न आग्रह गरे।

उनले राई समुदायमा महिलाहरूलाई अन्य समुदायको तुलनामा बढी अधिकार प्राप्त भएको उल्लेख गर्दै, आफूभित्रै प्रतिस्पर्धा गरेर अघि बढ्न सुझाव दिए।

उनले भने, ‘हाम्रो समाज खुला छ। महिलाहरूलाई हाम्रो समाजमा विशेषाधिकार छ, त्यसलाई सदुपयोग गर्नुहोस्।’

यायोक्खाका सल्लाहकार चन्द्रविक्रम राई, केन्द्रीय सदस्य प्रमिला राई, थुलुङ राई सामाका सल्लाहकार खुक्सङ खम्बू राई र किरात राई विद्यार्थी संघका अध्यक्ष शोभित राईले पनि खेलाडीहरूलाई शुभकामना व्यक्त गरे।

गत जुलाईमा बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनशिपमा सर्वाधिक गोलकर्ता बनेकी पूर्णिमा राईसहित, खेलाडीहरूलाई आर्थिक सहयोग जुटाउने कार्यमा खुक्सङ खम्बू राईले विशेष भूमिका निभाएका थिए।

पूर्णिमा राई अहिले संकटा क्लबबाट एन्फा महिला लिग छनोटमा खेल्न नियुक्त भएकी छिन्।

किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, महासचिव भीम राई
थुलुङ राई सामाका कार्यबाहक अध्यक्ष मुकुन्द राई, सल्लाहकार खुक्सङ खम्बू राई र महासचिव धनबल राई
थुलुङ राई सामाका कार्यबाहक अध्यक्ष मुकुन्द राई, सल्लाहकार खुक्सङ खम्बू राई र महासचिव धनबल राई।

भिडियाे पनि हेर्नुहाेस्ः