चर्चित कन्टेन्ट क्रियटर इस्टु कार्कीले बिहीबार सर्लाहीको नवलपुर बजारमा गएर निघार र सुँगुरकाे मासु खाएको भिडियो बनाएर पोस्ट गरेकी छन्।
बुबासँग बजार घुम्न गएकी उनले निघार र सुँगुरकाे सेकुवा खाएको भिडियो पोस्ट गरिन्।
तर, कमेन्टमा विशेषगरी उनको समुदायका मानिसहरूले उनलाई गाली गर्नुका साथै सुँगुर खानेहरूप्रति जातीय विभेद वा अपमान हुने किसिमका प्रतिक्रियाहरू दिएका छन्।
अलोभ क्षेत्रीले कमेन्ट गरेका छन्, ‘कार्की हो कि सार्की हो, तिमी सुँगुर खाने?’
कृष्णा सुवेदीले लेखेका छन्, ‘कार्कीकी छोरीले निघार र पोर्क सेकुवा खाएर बेइज्जत नै गरिन्।’
मित्रलाल पौडेलले भनेका छन्, ‘आफ्नै बेइज्जत किन गरेको होला।’ सुरेश थापाले कमेन्ट गरेका छन्, ‘सुंगुरे कार्की।’
भुवन घिमिरेले लेखेका छन्, ‘हैन हौ बहिनी, तिमी कार्की कि सार्की पो हौ?’
इश्वर कार्कीले भनेका छन्, ‘यस्ती सुँगुर खाने पनि कार्की हुन्छन् र? बेइज्जती केटी।’
त्यसैबीच आदिवासी जनजाति समुदायका मानिसहरूको कमेन्ट भिन्न किसिमका छन्।
दुर्गामान घिसिङले लेखेका छन्, ‘नेपालमा क्रान्ति हुँदैछ जे होस्।’ रविन मगरले लेखेका छन्, ‘पूर्वेली डिएनए पो रहेछ कि के हो।’
कृष्ण चाम्लिङ राईले भनेका छन्, ‘निघार र पोर्क किन महँगो हुन थालेको रहेछ भनेको, कार्कीले सुरु गरिछन् र पो त।’
आइसिंह राईले लेखेका छन्, ‘बुबा–छोरीलाई मेरो तर्फबाट राई भाइको नमस्कार।’
कार्की जातिलाई सामान्यतः क्षेत्री भनेर चिनिन्छ, जो हिन्दु धर्म संस्कारका हुन्।
क्षेत्री समुदायकी छोरीले खुलेआम निघार र सुँगुरको मासु खाएको भिडियो बनाएपछि त्यस समुदायका परम्परावादी मानिसहरूले गरेका कमेन्ट स्वाभाविक देखिन्छ।
तर, ती कमेन्टहरूकाे मनाेविज्ञानमा अहिले पनि सुँगुर खाने समुदायप्रति विभेदकारी तथा परम्परावादी दृष्टिकोण रहेकाे देखिन्छ।
