सहिद परिवार र घाइतेको मागः ‘रगतमाथि खेलबाड नगर, भ्रष्टाचार अन्त्य गर’

काठमाडाैं – जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफ्नो रगत र बलिदानलाई राजनीतिकाे खेलमा प्रयोग नगर्न सरकारसँग आग्रह गरेका छन्।

शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अछामका घाइते आदित्य रावलले आफूहरूले कसैलाई सत्तामा पुर्‍याउनका लागि आन्दोलन नगरेको स्पष्ट पार्दै, समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान दिएको बताए।

उनले सहिद परिवार र घाइतेको जीविकोपार्जनका लागि ठोस कार्ययोजना बनाउन सरकारसँग माग गर्दै हालसम्म पाएका राहत र सहयोग उपलब्ध नभएको गुनासो गरे।

गुल्मीका गोकर्ण बिस्ट र हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरणमा बस्न बाध्य भएको बताउँदै घाइतेको उपचार र भयरहित वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

प्रकाश विष्टकी दिदी दुर्गा विष्टले सहिदको रगत खेर जान नदिन चेतावनी दिँदै माग पूरा नभए सडकमा निस्कन बाध्य हुने बताइन्।

घाइते आफन्त सरस्वती रावलले अस्पतालमै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउँछ कि भन्ने चिन्ता रहेको बताइन्।

पूर्णबहादुर भण्डारीले जेनजी आन्दोलनमा आफ्नो समर्थन रहेको भन्दै बलिदान खेर जान नदिन सबैलाई लागिपर्न आह्वान गरे।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि विज्ञ मन्त्रिपरिषद्, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शिक्षा–स्वास्थ्य निःशुल्क, र २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ तथा प्रशासकको सम्पत्ति छानबिनको माग दोहोराइन्।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिइन्।

अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्ने उद्देश्यले भएको बताए।

शान्तिपूर्ण प्रदर्शनमा सरकारले ताकीताकी गोली चलाएको दाबी गर्दै उनले ‘सरकारले आदेश दिएको होइन भने, गोली कसले चलायो ?’ भनी छानबिनको माग गरे।

रावलले प्रत्यक्ष कार्यकारी प्रणालीको पक्षमा उभिँदै संविधान संशोधन गरेर जनताबाट प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राखे।

उनले सहिद र घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए।

पत्रकार प्रेमराज राईका दाइ चन्द्र वम्बुलेले घाइते पत्रकारलाई बेवास्ता गरिएकोप्रति रोष व्यक्त गरे।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img