नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले १५ नाेभेम्बरमा एल्महर्स्ट अस्पतालको अडिटोरियममा “FIPNA Volunteer Appreciation 2025” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको कार्यक्रममा वर्षभरि विभिन्न कार्यक्रमहरूमा योगदान पुर्‍याउने स्वयम्‍सेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूलाई सम्मान गरिनुका साथै विविध सांस्कृतिक तथा आकर्षक प्रस्तुतीकरणहरु प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अध्यक्षता FIPNA का अध्यक्ष तोरण गुरुङले गरेका थिए भने सञ्चालन महासचिव दीपक चौधरीले गरेका थिए।

FIPNA की सभामुख भारती राई सभामुखको आसनमा रहेकी थिइन्। साथै सदस्य संस्थाका अध्यक्षहरू तथा समुदायका अग्रणी व्यक्तित्वहरूले विशेष अतिथिका रूपमा सहभागिता जनाए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत मन्तव्य दिँदै स्वयम्‍सेवकहरूको निःस्वार्थ योगदानबिना FIPNA को कुनै पनि कार्यक्रम सम्भव नभएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरे।

FIPNA की सचिव दाजिमा शेर्पा र कृष्णमाया महर्जनले सांस्कृतिक कार्यक्रम संयोजकको रूपमा आफ्नो अनुभव सुनाउँदै स्वयम्‍सेवक तथा कलाकारहरूको समर्पणकै कारण FIPNA का कार्यक्रमहरू प्रभावकारी र समुदायमैत्री बनेको बताए।

त्यसैगरी, विश्व आदिवासी दिवस 2025 का संयोजक तथा FIPNA का क्षेत्रीय उपाध्यक्ष पूर्णा पैजा मगरले युवाको सहभागिता अझै सशक्त बनाउन सामुदायिक कार्यक्रमहरू प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे।

सह–कोषाध्यक्ष तथा स्वयम्‍सेवक समन्वयक दावा ल्हमो शेर्पाले युवाको उत्साह, प्रतिबद्धता र निरन्तर योगदानले FIPNA को गतिविधि सामुदायिक स्तरमा अझै सुदृढ भएको बताउँदै आगामी दिनमा पनि निरन्तर साथको अपेक्षा गरिन्।

सदस्य संस्थाहरूको तर्फबाट किरात याक्थुङ चुम्लुङका पुरण लिम्बु, मगर एसोसिएसनका दिपसागर बुद्धा मगर, तामाङ सोसाइटी अफ अमेरिकाकी उमा तामाङ तथा नेपाली अमेरिकन आर्टिस्ट एसोसिएसनकी बसन्ती राईले संस्थामार्फत समुदायका लागि निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।

कलाकारहरूको तर्फबाट लाल तामाङले FIPNA का कार्यक्रमहरूमा कलाकारहरूको भूमिकाबारे धारणा व्यक्त गरे भने युवा स्वयम्‍सेवक निमा शाङपो शेर्पाले आफ्नो प्रेरणादायी स्वयम्‍सेवक यात्रा सुनाइन्।

युनाइटेड किरात राई संगठन अमेरिकाका उपाध्यक्ष तथा सामुदायिक अग्रणी केशवराम राईले समुदाय, संस्कृति संरक्षण र युवाको सक्रियतामा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

अन्त्यमा, कार्यक्रम अध्यक्ष तोरण गुरुङले सबै स्वयम्‍सेवक, कलाकार, सदस्य संस्था तथा सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रमहरूलाई अझ मजबुत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।