नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन आगामी माघ ९ र १० गते कोशी प्रदेशको राजधानी विराटनगरमा हुने भएको छ।

महासंघका महासचिव दिवस राईका अनुसार महाधिवेशनको व्यवस्थापकीय तयारीलाई तीव्रता दिइएको छ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि आकांक्षीहरूको दौडधुप र लबिइङ पनि सुरु भएको छ।

महासंघमा हाल ५६ वटा जातीय संस्थाहरू आबद्ध छन्। विधानअनुसार महासंघको नेतृत्व चयनका लागि ती ५६ वटा संस्थाबाट १–१ जना प्रतिनिधि गरी कुल ५६ जनाले मात्र मतदान गर्न पाउने व्यवस्था छ।

महासचिव राईका अनुसार महाधिवेशनमा महासंघसँग सम्बन्धन प्राप्त विभिन्न संघ–संस्थाबाट करिब ५ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ।

आगामी कार्यकालका लागि महासंघको नेतृत्व लिन वर्तमान महासचिव राई आफैं प्रमुख दाबेदारका रूपमा देखिएका छन्।

यस्तै, अमृत सुनुवार, जीवन हाताचाे राई, मोहन छन्त्याल, निमा लामा लगायतले पनि नेतृत्वका लागि दाबी गरेको बताइएको छ।