सत्य बोल्दा समानुपातिकबाट हटाइएकी सत्यकला

नेपाली संगीत क्षेत्रमा सत्यकला राईको नाम आफैंमा एउटा पहिचान हो। तर, गीत–संगीतबाट राजनीतिमा पाइला टेक्ने प्रयाससँगै उनी अहिले बहस र विवादको केन्द्रमा पुगेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएर उनले राजनीतिमा औपचारिक यात्रा सुरु गर्न खोजेकी थिइन्।

तर एक भिडियाे अन्तर्वार्ताका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार बन्न ५० हजार रुपैयाँ शुल्क तिरेको तथ्य सार्वजनिक गरेपछि अवस्था उल्टिएको छ।

उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेसँगै रास्वपा नेतृत्व दबाबमा पर्यो र कारबाहीस्वरूप सत्यकलाको नाम समानुपातिक उम्मेदवारको सूचीबाट हटाइयो।

समानुपातिक उम्मेदवार छनोटका क्रममा पार्टीको नियमअनुसार सबै उम्मेदवारले प्रतिव्यक्ति ५० हजार रुपैयाँ बुझाएको उनले स्वयं स्वीकार गरेकी छन्।

अझ रोचक त के छ भने, रास्वपाभित्र भएको आन्तरिक मतदानमा उनले आदिवासी जनजाति महिला कोटातर्फ सबैभन्दा बढी १४ हजार २०१ मत प्राप्त गरेकी थिइन्।

यो तथ्य उनले आफ्नो फेसबुक स्टाटसमै सार्वजनिक गरेकी छन्।

उक्त स्टाटसमा उनले पार्टीलाई निरन्तर अनुरोध गरेपछि आफ्नो भावना बुझेर नाम हटाइदिएको भन्दै धन्यवादसमेत व्यक्त गरेकी छन्।

तर सांसद बन्ने सपना देखिसकेकी व्यक्तिले किन समानुपातिक सूचीबाट आफैं हट्न आग्रह गरिन् भन्ने प्रश्नको उत्तर भने कतै भेटिँदैन।

उनका अघिल्ला फेसबुक पोस्टहरूले पनि उनले खुसीसाथ त्यो निर्णय लिएको पुष्टि गर्दैनन्।

१६ जनवरीमा उनले सामाजिक सञ्जालमार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै ‘सानो कुरालाई अनावश्यक रूपमा ठुलो बनाएर अतिरञ्जित ढंगले भिडियो निर्माण गरी अर्कालाई खुइल्याउने प्रवृत्ति’को आलोचना गरेकी थिइन्।

हर्क साम्पाङलाई ट्याग गर्दै उनले लेखेकी थिइन्, ‘सानो कुरालाई अनावश्यक रूपमा ठुलो बनाएर अतिरञ्जित शैलीमा मेरो भिडियो निर्माण गरी अर्कालाई खुइल्याउने होडबाजीमा मलाई समेत तान्नु भएकोमा पत्रकार महोदय र भावी नेपाका प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभएका नेताज्युलाई धेरै धेरै धन्यवाद।’

धरानको मेयर पदबाट राजीनामा दिएर सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेका साम्पाङले रास्वपाले समानुपातिक उम्मेदवारबाट समेत ५० हजार रुपैयाँ लिएको विषयलाई आलोचना गर्दै भिडियाे क्लिप सेयर गरेका थिए।

त्यसपछि नै सत्यकलाको उक्त भिडियो क्लिप थप भाइरल भएकाे थियाे।

एकाएक राजनीतिमा प्रवेश गर्न खोजेकी सत्यकला राई अभिनेता नवल खड्काकी श्रीमती पनि हुन्। उनीहरू दुवै यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र समर्थित थिए।

लोकप्रियतावादको लहरमा उदाएको रास्वपासँगै सत्यकला पनि गीत गाउने मञ्च छोडेर सोही पार्टीबाट राजनीतिक मञ्चमा उदाउने प्रयासमा थिइन्।

तर राजनीति, संगीतजस्तो सहज छैन भन्ने यथार्थ उनले पहिलो कदममै अनुभव गर्नुपरेकाे छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img