संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अध्यक्षमा प्रेमल कुमार खनाल निर्वाचित भएका छन्।
काठमाडौंमा शुक्रबार सम्पन्न जेटियुसिसीको प्रथम राष्ट्रिय सम्मेलनले खनाललाई अध्यक्षमा चयन गरेकाे हाे।
त्यसैगरी अर्जुन लम्साललाई उपाध्यक्ष र केशव अधिकारीलाई महासचिवमा निर्वाचित गरेको छ।
सम्मेलनले सातवटै घटक ट्रेड युनियन महासङ्घबाट चार–चार जना प्रतिनिधि रहने गरी २८ सदस्यीय मूल समिति समेत गठन गरेको छ।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले श्रमिक वर्ग र उत्पीडित राष्ट्रियताहरूको हक, अधिकार र न्यायका पक्षमा आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहेको भन्दै ट्रेड युनियन आन्दोलनलाई आवश्यक साथ र सहयोग रहने प्रतिवद्धता जनाए।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्की, जेटियुसिसीका पूर्व अध्यक्ष तथा नेकपा नेता विश्वनाथ प्याकुरेल र सातवटै घटक महासङ्घका अध्यक्षहरूले श्रमिक आन्दोलनको वर्तमान अवस्था र चुनौतीबारे धारणा राखेका थिए।
यसैबीच, सम्मेलनको बन्दसत्रमा जेटियुसिसी स्थापनाको उद्देश्य, संगठनको आरोह–अवरोह तथा आगामी कार्यदिशासम्बन्धी विषयमा उपाध्यक्ष अर्जुन लम्साल र नवनिर्वाचित अध्यक्ष प्रेमल खनालले प्रस्तुत गरेको कार्यपत्र पारित गरिएको छ।
कार्यपत्रमा श्रमिकका लागि मर्यादित काम, सुरक्षित जीवन र दिगो रोजगारी सुनिश्चित गर्ने विषयलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ।
सम्मेलनको अध्यक्षता गर्दै निवर्तमान अध्यक्ष विष्णु प्रसाद लम्सालले नेपाली ट्रेड युनियन आन्दोलनलाई एकताबद्ध, सशक्त र प्रभावकारी ढङ्गले अगाडि बढाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन राष्ट्रिय ट्रेड युनियन महासङ्घका अध्यक्ष केशव अधिकारीले गरेका थिए।
