साकेला गाउँपालिकाको सबै आधारभूत विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गरिँदै

खोटाङस्थित साकेला गाउँपालिकाको सबै सामुदायिक विद्यालयहरुमा कम्तिमा २० एमबीपीएस क्षमताको ब्रोडव्याण्ड इन्टरनेट सेवा पुर्याइने भएको छ ।

गाउँपालिकामा रहेका २३ वटा आधारभूत विद्यालयहरुमा इन्टरनेट सेवा पुर्याउनका लागि हाल गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रविन मगर र प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाले गत जेठ २५ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

५ वटा वडा भएकाे साकेला गाउँपालिकामा २३ वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय छन् । ५ वटा माध्यमिक विद्यालयहरुमा यसअघि नै इन्टरनेट सेवा विस्तार गरिएको थियाे ।

इन्टरनेट पुग्न बाँकी रहेका आधारभूत विद्यालयहरुमा पनि ६ महिनाभित्रै पुर्याउने लक्ष्य राखिएको छ ।

समझदारीपत्र अनुसार इन्टरनेट सेवा जडान खर्च र दुई वर्षसम्मको महसुल बापतको रकम दूरसञ्चार प्राधिकरणले व्यहोर्ने छ ।

एक विद्यालयका लागि इन्टरनेट जडान खर्च र दुई वर्षको महसुल गरी जम्मा २६ हजार २८१ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

हाल सिरहाको लहानदेखि उदयपुरको गाईघाट हुँदै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मासम्म फाइबर इन्टरनेटको तार आइपुगेको छ ।

साकेला गाउँपालिकाले छिमेकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाटै इन्टरनेटको तार ल्याउने तयारी गरेको हाे ।

गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का (झंकार)ले इन्टरनेट सेवा जडानका लागि चाहिने पोल वा सो बापतको भाडा र प्रशासनिक लगायतका खर्च गाउँपालिकाले व्यहोर्ने बताए ।

‘यही असार २५ गतेसम्ममा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म इन्टरनेटको तार ल्याइसक्ने भनेका छौं,’ अध्यक्ष खड्काले भने, ‘तर अहिले मौसम खराब छ, केही समय धकेलिन सक्छ ।’

करिब ६ महिनाभित्रमा तोकिएका विद्यालयहरुमा इन्टरनेट सेवा जडान भइसक्ने उनको भनाइ छ ।

उनका अनुसार हाल वडा नं २, ३, ४ र ५ का विद्यालयहरुमा इन्टरनेट जोडिने छ । गाउँपालिकाको केन्द्रदेखि सबभन्दा टाढा रहेको वडा नं १ का विद्यालयहरुमा भने अन्य ठाउँबाटै इन्टरनेट ल्याइने छ ।

आधारभूत विद्यालयहरुमा इन्टरनेट सेवा पुर्याउनका लागि गाउँपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग काम गर्नेछ ।

गाउँपालिकाले माध्यमिक विद्यालयहरुको इन्टरनेटको स्पीड समेत बढाएर थप प्रभावकारी बनाउने छ । गाउँपालिका र प्राधिकरणबीचको सम्झौतापत्रमा दुई वर्षपछि पुनः सहकार्य गरिने उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्