रुपा जातजन्य भेदभावबाट पीडित, सरस्वती विभेदकारी संस्कारबाट पीडित

लेखक खगेन्द्र संग्रौलाले रुपा सुनार र सरस्वती प्रधान दुवै पीडित नारी रहेको बताएका छन् ।

रुपा सुनारले काेठा भाडामा खाेज्ने क्रममा आफूलाई कामीकी छोरी भनेर चिनाएपछि काठमाडाैं बबरमहलकी सरस्वती प्रधानले उनलाई कोठा भाडामा दिन मनाही गरेकी थिइन् ।

सुनारले प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएपछि हाल दुवै जना मिडिया र सामाजिक सञ्जालमा परिचित भएका छन् ।

रुपाले दिएको जाहेरीपछि पक्राउ परेकी सरस्वती आज रिहा भएकी छन् ।

रुपामाथि जातीय विभेद गरिएको भन्दै हाल सामाजिक सञ्जालमा उनको पक्षमा प्रतिक्रिया आइरहेको छ भने सरस्वती प्रधानको पक्षमा पनि नेवारजन्य संस्थाहरुले प्रदर्शन गरेको छ ।

यही सन्दर्भमा संग्रौलाले दुवैजना पीडित नारी रहेको सामाजिक सञ्जालबाट टिप्पणी गरेका हुन् ।

‘रुपा सुनार र सरस्वती प्रधान दुवै पीडित नारी । रुपा जातजन्य भेदभावबाट पीडित, सरस्वती परम्पराले थोपरेको विभेदकारी संस्कारबाट पीडित,’ संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘रुपाको विद्रोह आफूलाई जातजन्य भेदभावबाट र सरस्वतीलाई भेदभावको संस्कारबाट मुक्त गर्ने विद्रोह हो । शिक्षामन्त्री कृष्ण तुच्छ भेदभावका सरकारी मतियार !’

सरस्वती प्रधानले तत्काल जातीय विभेद गरेको ठहर गरेकोले तत्काल उनीविरुद्ध कानुनी कारवाही अघि बढाउन नमिल्ने भन्दै उनलाई आज रिहा गरिएको थियो ।

तर उनलाई स्वागत गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै पुगेपछि हाल मन्त्री श्रेष्ठबारे पनि आलोचनात्मक प्रतिक्रिया आइरहेको छ ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्