प्रहरीले आफ्नाे संवेदनशील अंग छाेएकाे सपनाकाे आरोप

सपना रोक्का मगरले पुरुष प्रहरीहरुले आफ्नाे संवेदनशील अंग छाेएकाे आरोप लगाएकी छन् । उनले आफूलाई प्रहरीहरुले कुटपिट गरेर बेहोस बनाएकाे पनि बताइन् ।

सोमबार काठमाडाैंकाे अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउन बनाएको टहरा हटाउने क्रममा प्रहरीको सपना राेका मगरसहितलाई पक्राउ गरेकाे थियाे ।

पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन् ।

उनले भनिन्, ‘महिला प्रहरी किन ? महिलाको सुरक्षाको लागि होइन । तर महिला प्रहरी हुँदाहुँदै नगर प्रहरी र नेपाल प्रहरीले मेरो छातीमा छोए । मलाई कुटपिट गरे । त्यसपछि म बेहोस पनि भएछु ।’

लकडाउनकाे समयमा आर्थिक अवस्था कमजोर भएर खानपिनमा समस्या भएकाहरुलाई दैनिक खाना उपलब्ध गराउन हाम्रो टिम नेपालले अनामनगरस्थित काठमाडौं महानगरपालिकाको नाममा रहेको खाली जग्गामा टहरा बनाएर खाना बनाउने र त्यहाँबाट विभिन्न ठाउँमा पुर्याउने काम गरिरहेकाे थियाे ।

महानगरपालिकाले पटकपटक त्यहाँबाट हट्न निर्देशन दिँदा पनि अटेर गरिएपछि सुरक्षाकर्मीहरुले बल प्रयोग गरेर उनीहरुलाई पक्राउ गरेकाे हाे ।

सपनाले फेसबुकबाट भनिन्, ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर सडकका वेवारिसेका लागि काम गर्दा यस्तो इनाम मिल्छ भने म निशब्द छु ।’

बेवारिसे शव व्यवस्थापन गरेका कारण सपना राेका मगर पछिल्लाे समय चर्चित बनेकी हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्