नेपाल तामाङ घेदुङले प्रहरीले गलत सूचनाको आधारमा ‘गाई काटेको’ भन्दै तामाङ समुदायका निर्दोष व्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ ।
घेदुङले पक्राउ परेका निर्दोष व्यक्तिहरुलाई बिनासर्त यथाशीघ्र रिहाइ गर्न माग गरेको छ ।
प्रहरीले गत असोज ४ गते मकवानपुरको बकैयास्थित कालीदमारबाट सोही गाउँपालिकाको वडा नं ११ का जनकबहादुर लो तामाङ, राज लो तामाङ, रविन्द्र लो तामाङ, राजकुमार घलान, प्रल्हादभक्त न्यासुर, सोमार भोलन, सञ्चमाया भोलन, सुनबहादुर तामाङ, फुलमाया थिङ र सन्देश विक गरी दश जनालाई पक्राउ गरेको थियो ।
तर, उनीहरुले गाई काटेको नभएर मरेको गाईलाई व्यवस्थापन गर्न लागेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको घेदुङले जनाएको छ ।
‘नेपालको मौजुदा कानुनमै काट्न, मार्न बर्जित गरेको चौपाया गाईलाई व्यापारीहरुले भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा बाटैमा मरेपछि त्यतिकै छाडिएको र गाउँमा दुर्गन्ध फैलने हुँदा त्यसलाई व्यवस्थापन गर्ने क्रममा उल्लिखित व्यक्तिहरुलाई गलत सूचनाको आधारमा प्रहरीले गाईलाई काटिमारेको भन्दै सुनियोजित ढंगबाट पक्राउ गरिएको घटनाको तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ तीब्र निन्दा र खेद व्यक्त गर्दछ,’ बुधबार घेदुङले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘वास्तविक सत्यतथ्य नबुझी गौडा ढुकी निर्दोष नागरिकलाई पक्राउ गरी फसाउने नियतले डरत्रासको वातावरण सिर्जना गराइ सोही खालको बयान दिन बाध्य पार्नेसम्मको यसखाले कार्यबाट सत्य सेवा सुरक्षणम्को नारा बोकेको प्रहरी सेवाको विश्वसनीयतामाथि प्रश्नचिन्ह उठेको छ ।’
प्रहरीको उक्त कार्यले विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरु संघीयता, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षताको मर्ममाथि प्रहार गर्नुका साथै संविधानको समेत धज्जी उठाउने काम भएको घेदुङले जनाएको छ ।
घेदुङले पक्राउ गरिएका व्यक्तिहरुलाई रिहाइ नगरे उनीहरुको मानवअधिकारको पक्षमा देशव्यापी रुपमा आन्दोलन गर्ने र सोबाट उत्पन्न हुने परिणामको प्रहरी प्रशासन नै जिम्मेवार हुनुपर्ने प्रष्ट पारेको छ ।
प्रहरीको कारवाही धर्मनिरपेक्ष राज्यविपरीतः वाग्ले
बृहत् नागरिक आन्दोलनका अभियान्ता तथा कान्तिपुर दैनिकका पूर्व सम्पादक नारायण वाग्लेले पनि प्रहरीले धर्मनिरपेक्ष राज्यविरुद्ध कार्य गरेको बताएका छन् ।
लेखक तथा साहित्यकार समेत रहेका वाग्लेले बुधबार फेसबुकमा घेदुङको विज्ञप्ति सेयर गर्दै भनेका छन्, ‘पुर्खादेखिको चलन अनुसार गाईगोरुको मासु खाने रैथाने समुदायका सदस्यहरुलाई पक्राउ गरी कानुनी दण्ड दिलाउने प्रहरी कारवाही के धर्मनिरपेक्ष राज्यसँग मिल्छ ?’
घेदुङकाे विज्ञप्तिः