प्रहरीले मकवानपुरस्थित बकैया गाउँपालिकाको कालिदमारबाट गाई काटेको आरोपमा तामाङ समुदायका दश जनालाई पक्राउ गरी कारवाही अघि बढाएपछि बृहत् नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले गत २२ सेप्टेम्बरमा गाईको मासु खाने रैथाने समुदायका सदस्यहरुमाथि प्रहरीले गरेको कारवाही धर्मनिरपेक्ष राज्यसँग मिल्छ ? भन्दै सामाजिक सञ्जालमा नेपाल तामाङ घेदुङले जारी गरेको प्रेस विज्ञप्ति सेयर गरेका थिए ।

घेदुङले पक्राउ परेका व्यक्तिहरुले गाई काटेको नभएर व्यापारीहरुले भारततिर बेच्न लाँदै गरेको गाई बाटैमा मरेपछि सोको व्यवस्थापन गर्ने क्रममा गलत सूचनाका अधारमा निर्दोष व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाइएकोले उनीहरुलाई तत्काल रिहाइ गर्न माग गर्दै विज्ञप्ति निकालेको थियो ।

कान्तिपुर दैनिकका पूर्वसम्पादक समेत रहेका वाग्ले पुर्खादेखि नै गाईको मासु खाँदै आएको समुदायको पक्षमा उभिएपछि उनीमाथि गेरु वस्त्रधारी ‘बाबा’ भनिनेहरु खनिएका छन् ।
‘योगी सोमराज’ भनिने गेरु वस्त्रधारण गरेका एक व्यक्तिले फेसबुक लाइभमा आएर नारायण वाग्लेलाई जहाँ भेट्यो त्यही ठोक्ने र देश निकाला गर्नुपर्ने चेतावनी दिएका छन् ।
‘एक जना डलरवादी मानवअधिकारकर्मीले पुर्खादेखि खाँदै आएको गाई काटेर खाँदाखेरि सरकारले कानुनी कारवाही गरेको छ । के यो धर्मनिरपेक्ष राज्यमा उचित हो भनेर प्रश्न गरेका रहेछन् । नाम भगवानको काम राक्षसको,’ वाग्लेप्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘नेताहरुले गरेको नराम्रो काम छ त्यसको विरोध गर, किन गाईको विरोध गर्छौ ? हाम्रो धर्म संस्कृतिमाथि अत्याचार गरेर तिम्लाई सुख मिल्छ ?’
उनले वाग्लेजस्तालाई आफूहरुले काट्न पाउनुपर्ने समेत बताएका छन् ।
‘यस्ता डलरेहरुले हामीलाई जहिले पनि खाल्टामा हाल्छन् । देशलाई रणभूमि बनाइसके, फिजि बनाइसके । देशलाई साउथ अफ्रिका जस्तो बनाइसके । कुनै पनि देशमा जब द्वन्द्व निम्त्याउँछ यो आईएनजिओहरुले अनि त्यो देशलाई खोक्रो बनाउँछ, त्यहाँका बहुमुल्य सामानहरु लिएर जान्छ, यता हामीलाई लडाइदिन्छ, यही भइरहेको छ । त्यसको मुख्य पात्र भनेका यस्ता मान्छेहरु हुन्,’ उनकाे आक्रोश छ, ‘यी मानवअधिकारर्की जसले गाई खानुपर्छ भने यिनलाई त देश निकाला गर्नुपर्छ, जहाँ भेट्यो त्यही ठोक्नुपर्छ । गाई काटेर खान पाउनुपर्छ ? तिम्लाई गाई काटेर खाने ? तिमीजस्ता मान्छेलाई काट्ने हाम्रो पुर्खाहरुको इतिहास हो । तिमीजस्ता मान्छेलाई काट्न पाउनुपर्छ । बाबाजी हुँ अन्यथा नलिनुहोला । वास्तवमा बोल्न बाध्य बनाइएको छ ।’