Thursday, March 23, 2023

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ ।

स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन् ।

हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुख समेत हुन् ।

२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए ।

उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गरिएको हो ।

उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।

यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुर्नगठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति भएका थिए ।

सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

समारोहका वक्ताहरुले २०१२ चैत्र १६ गते स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापित नेपाल पत्रकार महासंघ सोही पत्रकार संघलाई पुनःगठन गरी बनाइएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक रुपमा सम्मान गर्नुपर्ने माग गरेका थिए ।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघको संस्थापक बहसबारे महासंघका सम्बद्ध पक्ष पन्छिन नहुने बताए ।

‘नेपाली सञ्चारवृतमा उठिरहेको महासंघको संस्थापक अध्यक्ष बारेको बहसमा सम्बद्ध पक्षले जवाफ दिन आलटाल गर्ने होइन । यसबारे गम्भीर बहस र छलफल गर्नुपर्दछ,’ अध्यक्ष बस्नेतले भने ।

समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्षको बहसको उद्देश्य २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्वर्गीय भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासमा बंग्याइएको तथ्यलाई स्थापित गर्ने रहेको बताए ।

नेपाल पत्रकार महासंघले आफ्नो संस्थापक अध्यक्षको प्रश्नमा पुनःविचार गर्न जरुरी रहेको पनि वरिष्ठ उपाध्यक्ष राईको भनाइ छ ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यको सम्मान गर्नुपर्ने धारणा राखे ।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिँहले सत्यतथ्य सबैलाई थाहा भए पनि कसैले सम्बोधन नगरेको बताउँदै भने, ‘महासंघको अहिलेको संस्थापक अध्यक्षमा देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले स्वर्गीय श्रेष्ठको योगदानको इतिहासको बिस्मृतिमा परेको हो ।’

स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धरले सो विषयमा थप अध्ययन र प्रमाणहरु जुटाउँदै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बताइन् ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले इतिहासको तथ्यलाई मेट्न खोजिएकोले पत्रकार महासंघको संस्थापकको मुद्दा न्यायको लडाईका रुपमा रहेको बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्