किरात राईभित्रको चाम्लिङ भाषा बचाउने प्रयासस्वरुप स्थापना गरिएको सितिमी अक्षयकोषमा हालसम्म ७५ लाख रुपैयाँ जम्मा भएको छ ।
कोषमा कम्तिमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
हाल उक्त कोषमा जम्मा भएको रकमको ब्याजले ‘सितिमी मासिक’ नामक पत्रिका (मेगजिन) निकाल्ने गरिएको छ । जुन चाम्लिङ भाषामा रहेको छ । लिपि भने देवनागरी नै प्रयोग गरिएको छ ।
सितिमी मासिकका सम्पादक तिलक चाम्लिङले कोषको पैसाको ब्याज, शुभकामना विज्ञापनलगायत अन्य विज्ञापनहरुबापत प्राप्त हुने रकमले पत्रिका चलिरहेको बताए ।
अक्षयकोष विस्तार गर्न तथा नियमित रुपमा पत्रिका प्रकाशन गर्नका लागि मनिकुमार राई अध्यक्ष रहेको नौ सदस्यीय सितिमी मासिक सञ्चालक समिति क्रियाशील छ ।
हाल देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट थप आर्थिक सहयोग जुटाएर कोष बढाउने प्रयास गरिँदैछ ।
समाजसेवीसमेत रहेका सञ्चालक समितिका अध्यक्ष राईको नेतृत्वमा कोषमा थप सहयोग रकम जुटाउने र पत्रिका चलाउने काम गरिँदै आएको छ ।
सम्पादक चाम्लिङका अनुसार १० हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्नेहरुलाई सितिमीको आजीवन सदस्य र एक लाख रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्नेहरुलाई संरक्षकको रुपमा राख्ने गरिएको छ ।
उनकाअनुसार हालसम्म १० हजार रुपैयाँ वा साेभन्दा बढी आर्थिक सहयोग गर्नेहरुकाे संख्या १६५ पुगेकाे छ ।
सहयोग रकम बैंकमा राखिएको छ र सो रकमबाट प्राप्त भएको ब्याजमात्र चलाउने व्यवस्था गरिएको छ ।
हाल विभिन्न जाति तथा समुदायमा बोलिने मातृभाषाहरु लोप हुँदै गए पनि चाम्लिङ राईका केही अगुवाहरुले समुदायको तहबाट पत्रिकालाई माध्यम बनाएर चाम्लिङ भाषा बचाउने प्रयास गरिरहेका छन् ।
ग्रामिण क्षेत्रका मानिसहरुले समेत आफ्नाे मातृभाषा बोल्न छोड्दै गएको बेला यो प्रयास कति प्रभावकारी होला ? हेर्न बाँकी छ ।
सितिमीको सातौं स्थापना दिवस
शुक्रबार ललितपुरको ताल्छिखेलस्थित यलेखिम रेस्टुरेन्टमा सितिमी मासिकको सातौं स्थापना दिवस मनाइएको छ ।
कोरोना महामारीका कारण सीमित व्यक्तिहरुमात्र उपस्थित भएको उक्त कार्यक्रममा चाम्लिङ भाषाविद् बयानसिंह राईलाई ‘सितिमी सम्मान–२०७८’ले सम्मान गरिएको छ ।
सितिमीका संरक्षकहरुमध्ये ज्येष्ठ व्यक्ति क्या. जगतराम राईलाई प्रमुख अतिथिको रुपमा आशनग्रहण गराएर सुरु गरिएको उक्त कार्यक्रममा संरक्षकहरुलाई ‘सितिमी कदरपत्र–२०७८’ प्रदान गरिएको थियो ।