टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर किनेका छन् । एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेको बीबीसीले जनाएको छ ।

सामाजिक ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति मस्कको प्रस्तावमा सहमत भएसँग उनले ट्वीटर किनेका हुन् ।

ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको बताएका छन् ।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ ।

कम्पनीले सुरुमा मस्कको प्रस्तावलाई अस्वीकार गरे पनि अब उसले शेयरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्ने बीबीसीमा उल्लेख छ ।