खसहरु कहिलेदेखि कसरी हिन्दू भए ?

खस जातिको सबभन्दा लामो शासनसत्ता कायम रहेको मुलुक “बेबीलोनिया” हो । इन्साइक्लोपेडीया ब्रिटानिका भोल्युम–२ मा इसापूर्व १७०० तिर कशहरुले बेबिलोनिया माथि अधिकार जमाएको कुरा लेखिएको छ । इसापूर्व ११५५ तिर एलम जातिका हातबाट पराजित भएपछि पूर्वतर्फ लागेका खसहरुले इरानी साम्राज्यको गठन गरेका थिए । कास्मिर, कुमाउ, गढवालमा समेत निकै लामो समयसम्म खसहरुको राज्य रहेको देखिन्छ । कुमाउ गढवाललाई “खसमण्डल” भनेर समेत चिनिन्थ्यो । कत्युरी खस राजवंशले गढवालमा २०० वर्ष जति राज्य गरेको इतिहासप्रमाण फेला पर्दछ । चन्द राजवंशले कत्युरी राजवंशलाई विस्थापित गरिदिएको थियो । पश्चिम तिब्बतको खारी प्रदेशबाट सिंजा उपत्यका झरेका खसराज नागराजले विक्रमाब्दको एघारौांं शताब्दीमा खस साम्राज्यको स्थापना गरेका थिए । विक्रमाब्दको पन्ध्रौं सताब्दीको मध्यतिर एघारौं पुस्ताका खसराजा अभय मल्लको शासनकालमा खस साम्राज्यको विघटन हुन पुग्यो ।

विशाल खस साम्राज्यको पतनको झण्डै ४०० वर्ष पछि वि. सं. १८२५ मा कान्तिपुर विजय गर्दै गोर्खाली सेनाले पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खाराज्यको शिलान्यास गरेको थियो । वर्तमान नेपालको सिमाना सुगौली सन्धीले मेची र महाकाली नदीबीचमा सिमित गरिदिएको हो । मध्यकालीन खस राज्यको करीब त्रिखण्डी भूभागमा मात्र पछिल्लोपटक शाहवंशी राजाहरुले स्थापना गरेको राज्य सीमित रहेको छ । खस साम्राज्यका संस्थापक नागराजले स्थापना गरेको खसराज्यको पूर्वी सिमाना त्रिशुलीनदी थियो । हिन्दूकुश पर्वत श्रृङ्खलाको दक्षिणी काखमा अवस्थित यो पहाडी भूभागमा खसबाहेक अन्य जातिवंशको सग्लो राज्य कायम रहेको प्रमाण इतिहासमा फेला पर्दैन । केन्द्रीय सत्ता कमजोर भएको अवस्थामा छिटफुट रुपमा खास खास क्षेत्रमा विविध जातिसमुदायका ससाना भुरे टाकुरे राज्य राजौटाहरु बन्ने विघटित हुने प्रक्रिया चलेका भए पनि मूलतः यो भूमि खसशासित प्रदेशको रुपमा रहेको कुरा यथार्थ हो । तत्कालीन समयमा सिंगो भारतीय उपमहाद्विको सबभन्दा ठूलो राज्यको रुपमा खस साम्राज्य रहेको थियो ।

२०६२/६३ को आन्दोलनले नेपालको आर्थिक, सामाजिक राजनैतिक क्षेत्रमा ठूल्ठूला परिवर्तनहरुलाई स्थापित गरिदिएको छ । राजतन्त्र समाप्त गरिदियो । शाह राजवंश उखेलियो । मुलुकमा गणतन्त्र स्थापित भयो । एकात्मक राज्य संरचना भत्कियो । संघराज्यको रुपमा राज्यको पुनर्संरचा गरियो । हिन्दूराज्यको पुरानो मान्यता मासियो । धर्मनिरपेक्षतालाई स्वीकारियो । राज्यसञ्चालनमा सबै जात, जाति र लिङ्ग, वर्णको समावेशी सहभागितालाई सिद्धान्ततः संवैधानिकरुपमा स्वीकारियो । नेपाल भूमि बहुजातीय, बहुभाषिक र बहुधार्मिक मानवसमुदायको साझा बासस्थान रहेको कुरा संविधानले स्वीकारेको छ । दुर्भाग्यवश नयाँ संविधानले खसजातिको स्वतन्त्र अस्तित्व स्वीकार गर्दैन । खससंग आर्यको फुर्को जोडिएको छ । त्यो सरासर गलत प्रपञ्च हो । सयभन्दा बढी जातिसमूहहरु बसोबास गरेको यस भूभागमा सबभन्दा ठूलो जनसंख्या खसहरुको रहेको छ । त्यही ठूलो जातिको स्वतन्त्र अस्तित्व नामेट गर्ने षडयन्त्र भएको छ ।

समयमै संविधान निर्माणकार्य सम्पन्न हुन नसक्नाले ६२÷६३ को परिवर्तनपछि सैद्धान्तिकरुपमा स्वीकारिएका र अन्तरिम संविधानले स्वीकारेका राजनैतिक सामाजिक परिवर्तनहरु जस्ताको तस्तै संस्थागत हुन सकेनन् । मुलुक संक्रमणकालको लामो वेथितिमा रुमलियो । मूलतः हाम्रो समाजको चरित्र थयास्थितिवादी रहेको छ । फलस्वरुप सैद्धान्तिकरुपमा स्वीकारिएका परिवर्तनहरु नरुचाउने र पुरानै विधिव्यवस्थाहरुको पुनस्थापनाको चाहना राख्ने पक्षले विजय प्राप्त ग¥यो । खासगरेर, दोश्रो संविधानसभाको निर्वाचनले परिवर्तनकामी पक्षलाई अपेक्षाकृत कमजोर अवस्थामा पु¥याई दियो । परिणामस्वरुप संविधान पूर्णतः जनपक्षीय बन्न सकेन । समानुपाति समावेशी सिद्धान्तलाई पूर्णतः स्वीकारिएन । समावेशी सहभागिता टोकन मात्र बन्यो । झारातिराईको सिकार बन्यो । स्वभावतः मधेसी, थारु, जनाजाति लगायत खसहरुमा संविधानप्रति असन्तुष्टि छ । समाजको त्यही असन्तोषको साथ लागेर संवैधानिकरुपमा संस्थागत भैसकेका राजसंस्था र हिन्दूधर्म जस्ता विषयहरुमा यथास्थितिवादी चिन्तन राख्ने समुदाय र संस्थाहरुका तर्फबाट बेलामौकामा असन्तुष्टिका आवाजहरु सार्वजनिक हुने गरेका छन् । पछिल्लो समयमा नेपाललाई पुनः हिन्दू धर्मसापेक्ष मुलुक घोषणा गराउने अभियानै सञ्चालन हुन थालेको छ ।

धर्म मान्ने वा नमान्ने अथवा कुन धर्मसंस्कार अङ्गिकार गर्ने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रताको विषय हो । हाम्रोजस्तो बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय समाज रहेको मुलुकमा राज्य कुनै एउटा धर्मसँग आवद्ध रहने कुरा न्यायोचित ठहरिदैन । जुनसुकै धर्म सम्प्रदायको किन नहोस्, एकै जना मात्र भए पनि व्यक्तिविशेषको स्वतन्त्रताको रक्षा गर्नु राज्यको कर्तव्य मानिन्छ । अर्थात राज्यको कुनै धर्म हुँदैन, हुनु हुँदैन । राज्य सबै धर्म सम्प्रदायीहरुको साझा संरक्षक बन्नुपर्छ । आफूले एकीकरण गरेको राज्यलाई पृथ्वीनारायण शाहले “असली हिन्दूस्तान” बनाउे आकांक्षा राखेका थिए । सात भन्दा बढीको संख्यामा रहेका भारतका राजारजौटाहरु इष्ट इण्डिया कम्पनी सरकारका हातबाट धमाधम उन्मूलन गरिन थालिएको तत्कालीन अवस्थामा सिंगो भारतवर्ष (हिन्दुस्तान) को धार्मिक प्रतिनिधित्व आफूले गर्ने सपना पृथ्वीनारायण शाहले देखेका हुनसक्छन् । उनको इच्छा नवौं पुस्ताका शाह राजा महेन्द्रले वि.सं. २०१९ सालमा पञ्चायती संविधान जारीगर्दा पहिलोचोटि नेपाललाई “हिन्दू अधिराज्य” का रुपमा स्थापित गरेर पूरा गरिदिएका हुन् । २०४७ सालको संविधानमा पनि त्यही कुराले पुनरावृत्ति पायो । २०६५ जेष्ठ १५ गते संविधानसभाबाट राजसंस्था समाप्ति र धर्मनिरपेक्षताको विधिवत घोषणा भए पछि हिन्दू अधिराज्यको अवधारणा स्वतः समाप्त भएको हो ।

नेपालमा अनेकौं धर्म संस्कृतिहरुको अस्तित्व रहेको छ । त्यसमध्येको एउटा प्राचीन धर्म संस्कृति खसहरुको पनि हो । हिन्दू राज्य, हिन्दू धर्म वा हिन्दू राष्ट्रियतासँग नेपालको खस समुदायको ऐतिहासिक सामाजिक साइनो सम्बन्ध थिएन । यतिबेला हिन्दू धर्मको जननी मानिने ऋग्वेद आजको पाकिस्तानी भूमिमा लेखिएको हो भनेर मानिन्छ । त्यो भूखण्ड तत्कालीन समयमा आर्यावर्त भनेर चिनिने भूभाग थियो । “हिन्दू” भन्ने विशेषण सिन्धुको पर्यायको रुपमा प्रचलनमा आएको हो भनेर मानिन्छ । प्राचीन फारसी (इरानी) भाषामा “स” लाई “ह” भनिन्थ्यो । त्यसैले उताका बासिन्दाले सिन्धुपूर्वको भूमिलाई हिन्द र मानिसहरुलाई हिन्दू नाम दिएका हुन्  भनेर मानिन्छ । हिन्दू एउटा राष्ट्रियता हो । हिन्दूले हिन्दूस्तानका नागरिक भन्ने अर्थ दिन्छ । भारतलाई हिन्दूस्तान नाम दिने मुस्लिम शासकहरु थिए । हिन्दूस्तानमा विदेशी मान्यताको गन्ध आउने हुनाले स्वतन्त्र भारतको संविधानमा देशको नाम हिन्दुस्तान लेखिएन ।

इसापूर्व १५०० तिर जुनबेला सिन्धुघाँटीको द्रविडसभ्यता विकासको चरमचुलीमा थियो त्यतिबेला आर्य जाति र वैदिक संस्कृति सिन्धु उपत्यकामा प्रवेश गरेको थियो । भारतमा विकसित भएको वैदिक सभ्यता संस्कृतिलाई नै भारतभूमिमा राज्य स्थापित गर्न आइपुगेका मुश्लिम र अङ्गरेज शासकहरुले “हिन्दू” नाम दिएका हुन् । जहाँसम्म नेपालको खस समुदायको कुरा हो त्यो सिन्धुघाँटीबाट भारतवर्ष प्रवेश गर्ने जाति होइन । हिन्दूत्वलाई एउटा राष्ट्रियता मान्ने हो भने खस जाति हिन्दू राष्ट्रियताभित्र पर्दैन । खस समुदायको आफ्नो अलग धर्म संस्कृति थियो । त्यसलाई मष्टो संस्कृति भन्न सकिन्छ । खसहरुको मौलिक धर्म संस्कृति वैदिक होइन । हिन्दूस्तानमा बस्ने मानिसहरु हिन्दू भनिए, उनीहरुको धर्म संस्कृति हिन्दू भनियो । खसहरुको आदिबासस्थान हिन्दूस्तान होइन । खस जातिको धर्म संस्कृतिको मूल हिन्दू (वैदिक) होइन । त्यसैले विजातीय धर्म संस्कृतिका निमित्त मरिहत्ते हाल्नु औचित्यहीन कुरा हो । हिन्दू धर्म संस्कृतिप्रतिको खसहरुको मोह अज्ञानताको कुरुप उदाहरण मात्र हो ।

हिन्दू भनिनका लागि आवश्यक योग्यताका सम्बन्धमा “भववत्पूज्य पाद अनन्त श्रीविभूषित जगत्गुरु शङ्कराचार्य प्रभु श्रीज्योतिष्पीठाधीश्वर स्वामी श्री ब्रह्मानन्द सरस्वती महाराजले “कल्याण”को २०५१ मा प्रकाशित “हिन्दू संस्कृति“को चौथो संस्करणको २३÷२४ पृष्ठमा भनेका छन्– “………अथवा श्रुतिस्मृतिमूलक समाजव्यवस्था, अर्थव्यवस्था, शासनव्यवस्था, धर्मव्यवस्था आदिको माध्यमबाट आफ्नो जीवनका सबै क्षेत्रमा लौकिक–पारलौकिक अभ्युदयमा विश्वास गर्ने र वर्णाश्रम धर्मानुकूल आचारविचारद्वारा जीवन व्यतित गर्ने मानिसलाई हिन्दूको मान्यता प्राप्त हुन्छ । त्यतिमात्र होइन, ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र समेतका चार वर्णमध्ये कुनै एकमा जन्मेर वेदशास्त्रादिलाई आफ्नो धर्मग्रन्थ मान्ने मान्छे मात्र हिन्दू कहलिन योग्य मानिन्छ ।”

हिन्दू भनेको कर्मले होइन, जन्मले हुन पाइने व्यवस्था हो । हिन्दू हुनका लागि कि हिन्दूस्तानमा जन्मेको हुनुप¥यो कि आर्य कुलको सन्तान हुनुपर्छ । जन्मले खसहरु हिन्दू होइनन् । खसहरुको जाति आर्य पनि होइन । नेपाली खसहरु हिन्दूस्तानका नागरिक पनि होइनन् । खसहरुले वैदिक धर्मसंस्कृतिको अनुकरण गरेका मात्र हुन् । वास्तवमा हिन्दू संस्कृतिले खसहरुलाई हिन्दू हुने अधिकार दिँदैन । भारतीय राष्ट्रिय काँग्रेसकी वर्तमान अध्यक्ष श्रीमती सोनीय गाँधीले पशुपतिको दर्शन गर्न नपाएको प्रसंग नेपालीहरु कसैले बिर्सेको नहुनुपर्ने हो । त्यही मान्यताले विजातीय खसहरुलाई हिन्दू हुने रहर पाल्ने स्वतन्त्रता दिए पनि हिन्दू बन्ने अधिकार दिँदैन । खसहरु वैदिक क्षत्री, ब्राह्मण, वैश्य वा शुद्रका सन्तति होइनन् । ती अवैदिक अनार्यवंशी हुन् । अनार्यवंशमा जन्मेका कारणले खसहरुलाई हिन्दू बन्ने अधिकार छैन ।

खस साम्राज्य स्थापनाको सुरुदेखि नै भारतीय ब्राह्मण पण्डितहरु सिंजादरबारमा रहने परम्परा देखिन्छ । खसराज्यका संस्थापकको राज्यकालमा सामु नामका पण्डित सल्लाहकारको रुपमा रहेको देखिन्छ । त्यस्तो परम्परा निरन्तर रह्यो । तिनै पण्डितहरुको प्रभावमा परेर खस राजाहरुले हिन्दू धर्म संस्कृति ग्रहण गरेका हुन् ।  १२ औं १३ औं शताब्दीतिर गगनीराज भनेर परिचित जितारी मल्लले आफूले मात्र जनै ग्रहण गरेनन् आम खसहरुकाबीच जनै वितरण गरे । त्यसरी सिङ्गो खसजाति जनै भिरेर हिन्दू बनेको हो भन्ने कुरा ऐतिहासिक तथ्यले बोल्दछ ।

औपचारिक रुपमा हिन्दू धर्म संस्कृति ग्रहण गरे पनि खसजातिले मष्टो संस्कृति बिर्सन सकेन र आज पर्यन्त कुलपूजाको नाममा मष्टो मान्यतालाई जीवित राखेको छ । खसहरुले आफूलाई हिन्दू भनाउनु “सिङै नभएको गोरुलाई तिखे” भन्नुजस्तै परिहासको विषय हो भनिदिँदा फरक पर्दैन । अर्को तितो यथार्थ के पनि रहेको छ भने वेदले खस जातिलाई चिन्दैन । वेदपछि लेखिएका महाभारत, मनुस्मृति, राजतरङ्गिणी आदि ग्रन्थहरुमा खसहरुलाई किटानीकासाथ अनार्य भनिएको छ । फेरि ककेसियन हुँदैमा स्वतः हिन्दू बनिने पनि होइन । त्यसो हुन्थ्यो भने युरोप अमेरिकाका गोराहरु सबै हिन्दू भनिन्थे । वैदिक आर्यग्रन्थहरुले भारतीय आर्यबाहेक अन्य ककेसियनहरुलाई “म्लेच्छ” भनेर हिन्दू धर्मसंस्कार ग्रहण गर्न अयोग्य ठह¥याएका छन् । खसहरु अनार्य हुन् । अवैदिक हुन् । अनार्य वा अवैदिक जातिलाई हिन्दू धर्मसंस्कार ग्रहण गर्ने आधिकारिकता हिन्दू धर्म संस्कृतिको स्थापित परम्पराले दिँदैन । त्यसैले नेपाली खसहरुले आफूलाई हिन्दू भनाउनु अज्ञानजनित रहर मात्र हो । जनधारणा साप्ताहिकबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्