Tuesday, March 28, 2023

वर्तमान राजनीतिक निकासः सर्वदलीय सरकार, दुई वर्षमा निर्वाचन

हाम्रो देशमा राजनेता नै भएन । हाम्रा नेताहरू सबै आत्मकेन्द्रित भए । हाम्रा नेताहरूले बुझेको राजनीति भनेको निर्वाचन जुनै तरिकाबाट पनि जितेर आउने, सांसद बन्ने, मन्त्री बन्न कोशिस गर्ने हाे । मन्त्री नबने पनि सांसदले ६ करोडको विकास बजेट पाइहाल्छ र विभिन्न ठेकेदारसँग पार्टनर बन्ने वा काम दिलाउने, कमिसन खाने आदि इत्यादिमै केन्द्रित भए । देश र जनताको विकासको लागि केही ध्यान दिइएन । निर्वाचनको बेला छापिएको घोषणा-पत्र टोकरीमा फालियाे । अहिले देशमा ६, ७ वटा मुख्य राजनीतिक पार्टीहरू छन् । न त सत्तामा बस्नेले सबैलाई समेट्न सक्छ न त प्रतिपक्षको केही भूमिका छ । न त साना दलहरुले नै देश र जनताका लागि नै आफ्नो जिम्मेदारी निभाएका छन् ।

हाम्रा राजनेताहरुले राजनीति नै बुझेका छन् जस्तो लाग्दैन । राजनीति बुझेको भए सत्ता पक्ष र प्रतिपक्ष दुवैले एमसिसिका कुरा ल्याउँदैनथे होला । यिनीहरुको राजनीति देश र जनताका गरिबीपनलाई कार्ल मार्क्स, लेनिन, माओका सिद्धान्तलाई अगाडि राखेर फाइदा उठाउन मात्र खोजेका हुन् जस्तो लाग्दछ । यिनीहरुले सिंगापुरका लि क्वान युको जिवनी र प्रत्यक्ष रुपमा राज्य शासन चलाएको त देखेकै हो । लि क्वान युले आफू चाइनिज भए पनि चीनलाई भित्र पस्न दिएन, अमेरिकालाई पनि भित्र पस्न दिएन । अमेरिकाबाट प्रविधि भित्र्याए । चीनबाट काम गर्ने हौसला र सहानुभूति मात्र लिए । सिंगापुर आफ्नै मेहनतले विकसित भयो । तर हाम्रा नेताहरूले सिंगापुरबाट केही सिक्न खाेजेनन् । भाषणमा हामी सिंगापुर बनाउँछौं भनेर भोट माग्ने तर गर्ने बेला उल्टोउल्टो काम गर्ने । आफूलाई जहिले पनि अरू देशको गोटीको रुपमा प्रयोग हुन रुचाए । यसैलाई सजिलो आर्थिक स्रोतको साधन बनाए र सधैं आत्मकेन्द्रित भए । जनतालाई यही स्रोत र साधनलाई प्रयोग गरेर ठूलाे नेता हुँ भन्ने र म संसारकै ठूलो र असल नेता भन्न रुचाउने र घोषणा गर्ने भए ।

अहिले देश र जनता एकातिर कोरोनाको मारमा परिरहेको छ भने अर्कोतिर ढाडमा हानेको सर्प जस्तो मर्नु र बाँच्नुको अवस्थामा पुगेको छ । त्यतिमात्र नभै देशको अस्तित्वको प्रश्न पनि उठेको छ र यो स्वभाविक पनि हो ।  यसै हप्ताको देशको राजनीतिलाई राम्रो नियाल्ने हो भने ३/४ वटा बिरालोले हजारौ मुसालाई खेलाएको जस्तो छ । क. केपी ओली र क. प्रचण्ड देशका महान् राजनीतिक खेलाडीहरु हुन् । यिनीहरु दुवैले आफूलाई महानायक पनि ठान्छन् । बडो चतुर र धुर्त पनि छन् । क. प्रचण्ड आफूलाई बडो ठूलाे नेता र मैले जस्तो यो देशमा कसैले जनतालाई झुक्याएर शासन गर्न सक्दैन भन्ठान्थे तर आफू भन्दा क. केपी ओली माथिल्लो स्तरमा निस्केपछि क. प्रचण्डले नेपालको कम्युनिष्ट एक हुनुपर्छ भन्ने गुलियो वाक्यले एक हुन पुगे । तर, ती पार्टी एकता हुनमा दुवै पार्टीको कुनै पनि कार्यकर्ता र नेताहरूसँग छलफल भएको थिएन । सबै नेता र कार्यकर्ताहरुले राम्रैको लागि गरेका होलान् भनी चित्त बुझाएका थिए । तर निर्वाचन पनि जितियो, झण्डै दुई तिहाइ मत पनि आयो । अब सरकार चलाउन पदको लागि सम्झौता पनि भए । तर यिनीहरुको संझौतामा देश र जनतालाई केन्द्रित भएर संझौता भएन । आफू-आफूकेन्दित भएर मात्र संझौता भए । संझौतामा पालैपालो सरकार चलाउने थियो । सरकार चलाउँदै गए । संझौताअनुसार काम भएन । क.  प्रचण्डले प्रष्ट बुझ्नुपर्ने थियो कि यो संझौता लागू हुँदैन किनकि, आफू भन्दा एक तहमाथि धुर्त केपी छ भनेर । राजनीतिक नेताहरू पनि यतिसम्म पुग्छन् भन्ने कुरा जनतालाई थाहा थिएन । यसबेला थाहा पाए नेपाली जनताले वहाँहरुको हैसियत । अनि देश विकास कसरी होस् ? अनि आत्मकेन्द्रित किन नबनोस् ? यदि नेताहरूमा नेतृत्व स्तरको चेतना,  संस्कार नै  विकास भएको छैन भने ।

देश कुन दिशातिर लाने हो भन्ने प्रश्नको उत्तर प्रधानमन्त्री स्वयंले मात्र दिन सक्नुहुन्छ ।

नेपालमा विभिन्न राजनीतिक पार्टीहरु छन् । तर सबैको पार्टीको स्थापनाको उद्देश्य निर्वाचनको घोषणा-पत्र हेर्ने हो भने ५ प्रतिशत छोडेर सबैको एउटै छन् । अनि ती काम गर्न एक अर्काले किन सहयोग नगर्ने ? मुलभूत प्रश्न यसैमा छ कि हाम्रो ध्यान कतातिर केन्द्रित छ ? हामी आत्मकेन्द्रित छौं । हामी यसब‌बाट विमुख हुन सक्दैनौ । हाम्रो हातमा पाँच औला छन्,  विभिन्न साइजमा छन् । तर, केही काम गर्न पर्‍यो भने ती पाँचै औला बराबर काम गर्छन् । एउटा औंलामा केही भयो भने शरीरमा दुखेको महसुस हुन्छ । त्यस्तै एउटा राजनीतिक पार्टीको कुनै पनि सदस्यले खराब आचरण प्रस्तुत गर्छ भने सबै राजनीतिक पार्टीका नेताहरूले आफ्ना पार्टीका सदस्यहरूलाई सचेत तथा खवरदारी गराउनु पर्दछ, ताकि त्यस्तो किसिमको आचरण हाम्रो पार्टीमा नहोस् भनेर । सबै पार्टीको कार्यकर्ताहरुलाई असल नागरिक बनाउन कोशिस गर्नुपर्दछ,  उदाहरणीय बन्न सिकाउनु पर्दछ, अनुशासित बन्न सिकाउनु पर्दछ, नत्र उसले जनतालाई कसरी नेतृत्व दिन सक्छ ?

उदाहरणका लागि माननीय महेश बस्नेत, वँहा माननीय डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा पर्नु भएको थियो र त्यस्तो किसिमको अपहरण गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि भएको विश्वासको मतदानमा जनमोर्चाका सांसदप्रति पनि भएको थियो । यो हाम्रो राजनीतिक नेताहरूको स्तर र कार्यशैलीले हाम्रो राजनीति कतातिर केन्द्रित भएको छ भनेर देखाउँछ । संसदीय व्यवस्था भनेको जनताको प्रतिनिधि रहने ठाउँ, जसले देश विकास गर्न र जनताको अधिकारको प्राप्तिको लागि ऐन, कानुन, नियम बनाउँदछन् । अहिलेको राजनीतिक परिवेशमा हाम्रो संसदीय व्यवस्था असफल हुन लागेको जसरी बजारमा हल्लाको रुपमा आएको छ, सकारात्मक रुपमा लिन सकिन्छ तर कुनै पनि व्यवस्था आफैमा नराम्रो वा असफल हुन सक्दैन । ती व्यवस्था संचालनमा जो व्यक्तिहरु सहभागी छन् तिनीहरुमा निर्भर गर्दछ । तिनीहरुको कार्यशैली, व्यवस्थालाई बुझ्ने बुझाउने क्षमता, राजनीतिक संस्कार र आचरणमा निर्भर गर्दछ ।

कुनै पनि अध्यादेश ल्याउँदा त्यस अध्यादेशको बारेमा कतिको छलफल हुन्छ, छलफलमा सहभागी सांसदहरुको योग्यता र क्षमताको पनि उल्लेखनीय भूमिका रहन्छ । र अर्को भनेको अति महत्वपूर्ण विषय सत्तापक्षको सांसदहरुले प्रतिपक्ष र अर्को साना पार्टीका ससांसदहरुलाई कतिको आदरपूर्वक सद्भाव र प्रेमका साथ व्यवहार गर्दछन् ? किनभने सत्ता पक्षले त्यतिकै अध्यादेश ल्याएका पनि हुन्छन् । तर त्यसमा राम्रो छलफल गर्ने भनेको प्रतिपक्ष नै हो र संसदीय व्यवस्थामा संसदको गरिमा बढाउने प्रतिपक्ष नै हो । हाम्रो जस्तो देशमा संसदीय व्यवस्था अस्तव्यस्त हुनु सत्तापक्ष मात्र नभएर सम्पूर्ण सांसदहरुमा संसदीय व्यवस्थाको मूल्य र मान्यताप्रति ज्ञान नहुनु र राजनीतिक संस्कार र आचरण नहुनु, देश र जनताप्रति माया र सद्भाव नहुनु, सामन्ती सोंच र गरिबी चिन्तनबाट मुक्त हुन नसक्नु र सम्पूर्ण क्रियाकलाप नै आत्मकेन्द्रीत हुनु मुख्य कारण हुन् ।

अब पनि समय छ, हाम्रा देशका नेताहरूलाई देश र जनताप्रति बफादार बनी संघीयता, गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व गर्ने लोकतान्त्रिक व्यवस्थालाई निरन्तरता दिने हो भने सवै दलका प्रतिनिधित्व हुने गरी सर्वदलीय मिटिङको आयोजना गरियोस् । यो मिटिङ प्रधानमन्त्री स्वयंले गर्न सकिन्छ हैन भने प्रतिपक्ष नेताले पनि गर्न सकिन्छ । यदि दुवैबाट नहुने अवस्था देखिएमा माओवादी केन्द्र वा जसपाले पनि गर्न सक्छ । मौखिक रुपमा निर्वाचन निर्वाचन भनेर जति रटान लगाए पनि अहिले नै निर्वाचनमा जान सक्ने स्थिति कुनै पार्टीको पनि छैन । केपी ओली सरकारले ताजा जनादेशमा जाने भनेको सरकारी बल प्रयोग गरेर आफू दुई तिहाइले जित्ने भनेको हो । प्रजातान्त्रिक मूल्य मान्यतामा स्वतन्त्र र निष्पक्ष निर्वाचनमा जाने हो भने उनकै पार्टीको पनि बहुमत पुग्दैन । त्यसैले निर्वाचन दुई वर्षपछि नै गर्ने गरी सबैको साझा एजेण्डा बनाउनुपर्छ । सरकारको नेतृत्वमा निम्न तरिका अपनाउन सकिन्छ ।

१. सरकार एमालेको नेतृत्वमा हुनसक्छ, तर एमालेको नेतृत्वमा हुनलाई अहिलेसम्म भएका असंवैधानिक कदमलाई सच्याउने, आत्माआलोचना गर्ने र अब आउने दिनहरुमा कुनै असंवैधानिक काम हुँदैन भनेर विश्वास दिलाउनुपर्‍यो ।

२. यदि मन्जुर छैन भने अरुलाई नेतृत्व गर्न मार्ग खुला गरिदिनुपर्दछ ।

३. सर्वदलीय मिटिङबाट सर्वदलीय सरकार बनाउन सकिन्छ ।

अहम् र दम्भले कसैलाई सहयोग पुर्‍याउँदैन । “अति दर्पे हता लंका अति मानेका कौरव, अति वर्जे वर्जतम सर्वत्र वज्रितम” भने जस्तै हुन्छ । अहिले देश कुन दिशातिर लाने हो भन्ने प्रश्नको उत्तर प्रधानमन्त्री स्वयंले मात्र दिन सक्नुहुन्छ । हाम्रो देशमा विदेशीको चलखेल उच्च स्तरमा भएको सबैलाई अनुभव भएकै कुरा हो । विदेशीले नै देश संचालन गरेको त हैन भन्नेमा सबैलाई भान भैराखेको छ । नेपाल र नेपालीलाई बचाउन प्रधानमन्त्रीले नै नम्रताका साथ नेपाली राजनीतिमा एक पाइला पछाडि सरेर उत्रन सक्नुभयो भने राजनीतिक शान्तिको बाटोमा अघि बढ्न सक्छ नत्र नेपाल र नेपालीले दुःख पाउने अवस्था आउनेछ । सबैलाई चेतना भया ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्