Wednesday, November 30, 2022
10.4 C
Diktel

कम्बोडियन शासक हुन सेन पथ पछ्याउँदै खड्ग ओली

Subtitle

कम्बोडियाको मास जेनोसाईड वा आमहत्या

कम्बोडियाको पुरानो नाम कम्पुचिया थियो । कम्बोडियामा खमेरुज कम्युनिष्ट विद्रोहपछि कम्युनिष्टहरुले विजय हासिल गरेपछि खमेरुज कम्युनिष्ट नेता पोलपोटको शासन सुरु भयो ।

सन् १९७५ देखि १९७९ सम्मको पोलपोट शासनकालमा निर्दोष शहरवासी, शिक्षित कम्बोडियन समुदाय सफाया अभियान गरेर नयाँ कम्युनिष्ट समाज स्थापना गर्ने अभियानमा करिब २० लाखको संख्यामा मानव हत्या भएको थियो । जसलाई कम्बोडिया मास किलिङ ‘जेनोसाईड’ भन्ने गरिन्छ । सन् १९७९ मा भियतनामको आक्रमणपछि पोलपोटको शासन ढलेको थियो ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको शासन

३५ वर्षदेखि शासनमा रहेका कम्बोडियाका प्रजातान्त्रिक तानाशाही शासक हुन सेन पनि राजनीति प्रवेश कालमा खमेरु पथका कम्बोडियन कम्युनिष्ट थिए । हुन सेन खमेरु कम्युनिष्ट समूह छोडेर भियतनाम पुगे । पछि भियतनामको सैन्य सहयोग सहितको टोली लिएर कम्बोडिया खमेरुज कम्युनिष्टलाई परास्त गरेपछिको सरकारका सबभन्दा कान्छा विदेशमन्त्री भएका थिए ।

त्यसपछि हुन सेनले देशमा बहुदलीय प्रजातान्त्रिक अभ्यासको गलत प्रयोग गर्दै निरन्तर सत्तामा रहेका छन् ।
यता, नेपाली कम्युनिष्ट खड्ग प्रसाद ओली पनि झापामा जमिन्दार हत्याकाण्ड गराउने माले कम्युनिष्ट थिए । खड्ग ओलीजी कम्युनिष्ट भएर पनि लोकतान्त्रिक बाटोबाट शक्तिशाली बन्ने उपाए खोज्दै कम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन सेन पथ पछ्याउन खोज्दैछन् भन्ने प्रष्ट देखिन्छ ।

नेपालको प्रधानमन्त्री ओली र कम्बोडियाको प्रधानमन्त्री हुन सेनको सोंच, शैली र व्यवहार मिल्दोजुल्दो देखिएको छ । हुन सेनको राजनीतिक नीति, रणनीतिहरु सिक्न, प्रशिक्षण लिनका निम्ति होला खड्ग ओलीजी गत साल करिब दुई हप्ता कम्बोडियन तानाशाही शासन शैली अध्ययन गरेर फर्कनु भएको थियो । त्यसपछि उहाँमा पनि हुन सेन पथको लक्षणहरु देखिन थालेको हो ।

कम्बोडियाको लोकतन्त्र

हुन सेन विगत ३५ वर्षदेखि कम्बोडियाको बडा महाराजा जस्तै शक्ति भएका प्रधानमन्त्री पदमा आशिन छन् । देशमा चरम् भ्रष्टाचार र कुशासन छाएको छ । कुशासन र भ्रष्टाचारको हुन सेनलाई कत्ति पनि चिन्ता छैन । किनभने, निर्वाचनमा उनलाई जनताले भोट नहाले पनि उनकै पार्टीले दुई तिहाईले विजय हासिल गरेको निर्णय सुनाउने परम्परा बसालिसकेको छ ।
सत्ताधारी प्रभावशाली व्यक्तिहरु, उच्च पदमा रहेकाहरु विदेशमा धन संचित गर्ने काममा व्यस्त छन् । कम्बोडिया संवैधानिक हिसाबले प्रजातान्त्रिक देश भएता पनि प्रजातन्त्र नभएको देश भएको छ । बहुदलीय व्यवस्थामा एकदलीय मनोमानी प्रष्ट देखिन्छ ।

विपक्षी दलका नेताहरुको हत्या गर्नेदेखि दुव्र्यवहार, कुटपिट, जेलमा सडाएर सिध्याउने काम गरिन्छ । विपक्षी दलको गतिविधिलाई शुण्य बनाएका छन् । सञ्चारमाध्यमलाई पनि व्यापक नियन्त्रण गरिएको छ । परिस्थितिको मुल्यांकन गर्न सिपालु शासक हुन सेनलाई चाइनासँगको निकटताले सत्ता टिकाउन सजिलो भएको देखिन्छ ।

कम्बोडियामा शक्ति पृथकीकरणको सिद्धान्त

कम्बोडियामा शक्ति सन्तुलन वा शक्ति पृथकीकरणको सिद्धान्त पालना भएको छैन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै प्रधानमन्त्री हुन सेनको पकेटभित्र राखिएको छ ।

संवैधानिक राजतन्त्रको प्रावधानअनुसार राजपरिषद्ले छनौट गरिएको व्यक्तिलाई प्रधानमन्त्रीको अनुमोदनपछि अधिकारविहीन राजा घोषणा गरिन्छ । प्रहरी तथा सैनिक शक्तिको कमाण्ड आफ्नै शासनको नियन्त्रणमा छ । पत्रकार, मानवअधिकारकर्मी लगायत विपक्षीहरु र शासकको विरोध गर्नेहरुको खुल्लेआम हत्या गरिन्छ, जेल हालिन्छ, टर्चर दिइन्छ, आतंकित गरिन्छ ।

कम्बोडियामा गरिबी र भ्रष्टाचार

कम्बोडियामा गरिब र धनीको खाडल बढेको छ । ट्रान्स्परेन्सी ईन्टरनेशनलको रिपोर्ट अनुसार नेपाल दक्षिण एशियामा सबभन्दा धेरै भ्रष्टाचार गर्ने देशमा परेको छ । त्यस्तै, ट्रान्स्परेन्सी ईन्टरनेशनलको रिपोर्ट अनुसार कम्बोडिया पनि धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

कम्बोडियाका सरकारी स्कुलहरुको गुणस्तर अति न्युनस्तरको भएको हुनाले सन् २०१४ मा सरकारी स्कूलका ७५ प्रतिशत विद्यार्थीहरु फेल भएका थिए । कम्बोडियामा निजी स्कुलहरु महंगो भएकोले आम निजी स्कुलहरु जनताको पहुँचभन्दा माथि रहेका छन् । त्यसैगरि, सरकारी अस्पतालहरुको गुणस्तर वा स्वास्थ्य सेवाको गुणस्तर धेरै न्युन रहेको छ ।
कम्बोडियाका ५ वर्ष मुनिका ३५ प्रतिशत बच्चामा कुपोषण देखिएको छ । कम्बोडिया दक्षिण एशियाको सबभन्दा गरिब देशहरुमध्ये चौथो गरिब देशमा पर्दछ । यसरि हेर्दा, कम्बोडिया र नेपालको अवस्था र वस्तुस्थितिमा धेरै समानता भेटिन्छ ।

नेपालमा हुन सेन पथको प्रयास

ट्रान्पारेन्सी ईन्टरनेशनलले नेपाल दक्षिण एशियामा भ्रष्टाचारको एक नम्वर देश भनेर किटान गर्दै सरकार आफैले भ्रष्टाचारीको बचाउ गरेको रिपोर्ट दिएको छ । नेपालमा पनि भ्रष्टाचार राम्रै मौलाउन पाएको छ । मिडियाहरुलाई नियन्त्रणको निम्ति नियन्त्रण निमवावली ल्याउने प्रयास भएकै थियो ।

यता, नेपालमा पनि अख्तियार, न्यायलय स्वतन्त्र हुन सकेको छैन । सरकारी कब्जामै छन् । पुलिस प्रशासन, सेना, सशस्त्र मातहतै भए । प्रमुख प्रतिपक्ष दललाई भुलभुलैयामा राखेर निस्किृय बनाइएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई टुक्राउने, सिद्धाउने कोशिस थालिएकै थियो । दलभित्रका प्रतिद्वन्द्वीहरुलाई खुइलाउँदै भिजेको मुसो बनाएकै देखिन्छ । राजतन्त्र ल्याउने वातावरण बनाउनको लागि, संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णयले संकेत गरेकै छ । यी सबै कम्बोडियाको सर्वसत्तावादी, तानाशाही हुन सेन पथको अनुकरण होइन भन्न सकिने अवस्था छैन ।

कम्बोडिया र नेपाली समाजमा भिन्नता

कम्बोडिया बहुलजातीय देश होइन, एकल जातीय देश हो । हुन सेन एक जातीय, एक समुदाय देशका शासक हुन् भने नेपाल बहुजातीय बहुराष्ट्रिय देश हो । कुनै एक नश्ल वा एक जात समुदायको राजा वा तानाशाहले हुन सेनको नक्कल गर्नु मुर्खता हुनेछ ।

मास जेनोसाईड वा आमहत्याको आतंकको गहिरो नकारात्मक प्रभाव र डिप्रेशनमा बाँचेको कम्बोडियन समाजमा हुन सेनको तानाशाही शासन टिक्नमा सहयोगी भएको छ । तर, नेपाली समाज सरकारी शासकको बरबर्ताको विरुद्ध बारम्बार विद्रोह र क्रान्ती गरेर सफल भएको नेपाली समाजले हुन सेनको तानाशाही पथमा लाग्ने नेताको अवशान पक्का छ ।

त्यसैले, खड्ग ओलीले ज्ञानेन्द्र शाहलाई कम्बोडियाको नाम मात्रको संवैधानिक राजा नोरोदम सिहामोनी बनाएर आफू हुन सेन जस्तै तानाशाह बनेर नेपालमा लामो समय शासन गर्ने सपना देखेको भए यथार्थमा त्यो उनको सपनामै सिमित हुने पक्का छ ।

(डा. केके राई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् । याे लेख सार्वजनिक डटकममा  २८ नाेभेम्बर २०२० प्रकाशित भएकाे थियाे, र हाल पनि याे सान्दर्भिक नै भएकाेले साभार गरी यहाँ पुनः प्रकाशन गरिएकाे छ ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्