ज्येष्ठ शुक्लपूर्णिमा नै मष्टपुजन पूर्णिमा हाे

चन्द्रमा ज्येष्ठा नक्षत्रको नजिकमा गएर आफ्नो सोह्रकलाले पूर्ण भएको दिन ज्येष्ठ शुक्लपूर्णिमा कहलाउँदछ । ज्येष्ठ शुक्लपूर्णिमाको नामबाट उक्त महिनाको ज्येष्ठ वा जेठ नाम रहेको हो । आजकल वैशाख शुक्लपूर्णिमालाई उँभौली पूर्णिमा भन्न थालिएको छ । तर वास्तवमा जेठपूर्णिमा उँभौली पूर्णिमा र मङ्सिरे पूर्णिमा उँधौली पूर्णिमा हो । किनभने छ–छ महिनाको फरकमा उँभौली र उँधौली पूर्णिमा हुन्छ । त्यसकारण जेठ पूर्णिमामा उँभौली र मङ्सिरे पूर्णिमामा उँधौली भूमेपूजा गरिन्छ ।

मङ्सिर महिनामा अन्नबाली भित्र्याइसकेपछि भूमि देवताप्रति अनुगृहित हुँदै मङ्सिरे पूर्णेमा उँधौली भूमेपूजा गरेर न्वागी खाने प्रचलन छ । ‘हिउँद फाल, बर्खा काल’ भन्ने भनाइ पनि रहेको छ । त्यसकारण अब बर्खा लाग्यो, खेतीपातीको समय भयो, बालीनाली सप्रोस्, खोलो पहिरो, रोग व्याध र मर भाग केही नहोस् भनेर जेठ पूर्णेमा उँभौली भूमेपूजा गरिन्छ ।मङ्सिरमा अन्नबाली भित्र्याइसकेपछि खेतमल्न लेकबाट बेँसीमा गोठ झारिन्छ । खेतीबालीको समय आएर खेतबारीमा जोत चास गर्ने बेला भएपछि बेसीको गोठ लेकमा सारिन्छ । त्यसकारण उँधौली–उँभौली मङ्सिरे पूर्णिमा र जेठ पूर्णिमामा गोठमा गैडूपूजा गरिन्छ । पशुधनको संरक्षण र वृद्धिको लागि गैडूपूजा गरिएको हो । त्यसकारण गैडूपूजा गर्दा गाउँको लस्कर (वस्तुभाउको ताँती) बेँसी र बेँसीको लस्कर गाउँ होस् भनेर पुकारा गरिन्छ ।

गैडुपूजा गर्दा खिर पकाइन्छ र त्यस अवसरमा केटाकेटीहरु कोही काग र कोही कुकुरको अभिनय गरेर रमाइलो गर्छन् । त्यसकारण गैडूपूजा बालविनोदको एउटा पर्व पनि हो । नेपालको हिमाली क्षेत्रका बासिन्दाहरुमा आजसम्म पनि जाडो याममा घमाइलो ठाउँतिर बसाइँ सर्ने र गर्मी बढेपछि आफ्नै थातथलोतिर फर्कने मानव जीवनचक्र (Trans Human Cycle) विद्यमान छ ।

नेपालको पहाडी भेगमा यसरी जाडो र गर्मी छल्न बसाइँ सर्ने प्रचलन छैन । तापनि उँधौलीमा लेकको गोठ बेँसीमा झार्ने र उँभौलीमा बेँसीको गोठलेकमा सार्ने प्रचलन भने अझै पनि प्रचलित छ । गाउँमाथि लेक, गाउँ मुन्तिर बेँसी र माझको घामाइलो डाँडा पाखामा गाउँ बसाल्नु नेपाल पहाडका नेपालीहरुको बस्ती बसाईको ढाँचा patern of satlement हो ।  लेकमा जहाँसम्म गाई गोठ जान सक्छ, त्यहाँसम्म भैँसी गोठ जान सक्तैन । त्यसकारण भैंसीगोठ अलि तलै हुन्छ र गाई गोठ अलि माथि हुन्छ । यसैगरी जहाँसम्म भेडीगोठ जान सक्छ, त्यहाँसम्म गाई गोठ जान सक्तैन । त्यसकारण गाई गोठ अलि तलै हुन्छ र भेडीगोठ भने उच्च हिमाली चरन (Pattern of Settlement) सम्म पुग्दछ । उच्च हिमाली चरनमा जहाँसम्म भेडीगोठ लगिन्छ, असार महिनाभित्र त्यहाँ गोठ लगिसक्नुपर्छ । त्यसपछि साउन महिनाभर र भदौको आधाअवधिसम्म उच्च हिमाली चरनमा भेडीगोठ बस्दछ । हिमालमा पनि मुनाल अलि तलै बस्छ र उच्च हिमाली चरनमा त कस्तुरी र डाँफे मात्र बस्छ । त्यसकारण उच्छ हिमाली चरन (High Himalayan Pastural Land) लाई डाँफे चरन भन्दछ ।

भदौको ११ सम्म भेडाको शिर उत्तरतिर फर्केको हुन्छ । भदौ १२ मा सगर (आकाश) गर्जेपछि खण्डवृष्टि हुन्छ र हिमालबाट चिसो सिरेटो चल्न थाल्छ । भेडीको मूली माउले हिमालबाट चिसो सिरेटो चन्ल थालेको चाल पाउँछ र भदौ १२ देखि भेडीको मूली माउले दखिनतिर शिर फर्काउँछ । भेडीको मूली माउले दखिनतिर टाउको फर्काएको देखेपछि भेडी गोठालाले तल्लो कन्लामा गोठ सार्छ र उँधौली भनेको त्यही हो । मङ्सिर महिनामा गाउँको माथिमाथि गोठ ल्याएर राखिएको हुन्छ । मङ्सिरमा धान र कोदो थन्क्याई सकेपछि बेँसीमा गोठ झारिन्छ । गाउँको बेँसीमा झिनुवा धान झुक्ने फाँटहरु हुन्छन् । फाँटको छेउको खोलाको रानी रहमा असला र कत्ले माछाले भुत्भुती खेल्छ । त्यसकारण झिनुवा धान झुल्ने बेंसीको फाँटलाई माछा चरन भनिन्छ । फागुन १२ मा सगर गर्जेपछि धर्ती कमलाउँछ र खेतवारीमा जोत चास गर्ने बेला हुन्छ । त्यसकारण फागुण १२ देखि बेँसीको गोठ विस्तारै लेकतिर सारिन्छ । बर्खाभरि खोला हिँडेको र हिउँदमा खोलाले छोडेको जमिन बगर हो । यसैगरी हिउँदभरी हिउँले ढाकेको र बर्खामा हिउँले छाडेको जमिन खगर हो । यही खगर–बगर, डाँफे चरन, माछा चरन, लेकबेँसी, खर्क खर्चरी, चरिचरन र त्यसको सेरो फेरो, त्यहाँका वनस्पति र पशुपंक्षी, ऋतु अनुसार उँधौली र उँभौलीमा त्यसमा आउने परिवर्तन र तदनुरुपको जीवन शैलीले नेपालको जैविक विविधता (Bio Diversity)को सुन्दर नमूना प्रस्तुत गर्दछ ।

ज्येष्ठ शुक्लपूर्णिमा मष्टपूर्णिमाको नामबाट पनि प्रसिद्ध छ । मष्ट परम्परा खस संस्कृतिको प्रमुख विशेषता हो । मष्ट परम्पराको विकास पश्चिम नेपालको कर्णाली प्रदेशमा भएको हो । त्यहाँ ‘ढँडार छुट्यौँ, खप्तड फुट्तौँ’ भन्ने लोकोक्ति प्रसिद्ध छ । त्यसकारण बझाङको ढँडार र खप्तड मष्ट परम्पराका मुख्य दुई केन्द्रबिन्दु (Major Point) का रुपमा देखिन्छन् ।
मष्टलाई कतैकतै मष्टो भनेको पनि पाइन्छ । एउटालाई एउटो र चरालाई चरो भनेजस्तै मष्टलाई मष्टो भन्दा अवहेलित हुन्छ । त्यसकारण मष्टो भन्न हुँदैन, मष्ट भन्नु पर्दछ । मष्टका सन्दर्भमा विभिन्न मत मतान्तरहरु पाइन्छन् । पश्चिम नेपालको हिमालयमा पूजिने देवी देवताहरुको बारेमा विस्तृत अनुसन्धान गर्नुहुने प्रा.डा. प्रयागराज शर्माले मष्टलाई अपौराणिक भन्नु भएको छ । वहाँले अपौराणिक भन्नुको तात्पर्य अवैदिक भन्न खोज्नु भएको बुझिन्छ ।

त्यसकारण अब मष्ट कस्तो खालको देवता हो ? भनेर बुझ्नुपर्दछ । अझ मष्टको बारेमा बुझ्नुभन्दा पहिले मष्टलाई कुल देवता मान्ने खस समुदायको बारेमा जान्न बुझ्न आवश्यक छ । भारतमा विदेशबाट आएका थुप्रै आर्येतरका (आर्य बाहेक) समुदायले आर्य धर्म ग्रहण गरेर भारतीय समाजमा आफ्नो वर्चस्व कायम गरी राज्यसत्ता प्राप्त गरेको इतिहास छ । भारतीय साहित्यहरुमा यसरी राज्यसत्ता प्राप्त गरेकाहरुलाई म्लेच्क्ष (अंग्रेज) भनेको पनि पाइन्छ ।

यसैगरी यी खसहरु पनि आर्यधर्म ग्रहण गरेर समाजमा आफ्नो वर्चस्व कायम गरी राज्यसत्ता प्राप्त गर्न सफल लडाकु जातिका रुपमा देखिन्छन् । श्रीमद्भागवत महापुराणको यस श्लोकबाट यो वास्तविकता राम्ररी स्पष्ट हुन्छ ।
जस्तै–
किरातहूणान्ध्रपुलिन्दपुल्कसा
आभीरकङ्कायवनास् खसादयस् ।
येक् न्ये च पापा यदुपाश्रयाश्रयास्
शुध्यन्ति तस्मौ प्रभविष्णवे नमस् ।।

मष्ट परम्परामा बाह्रभाइ मष्ट, नौ बहिनी भवानी र तिनका मामा, लामा, विष्णु यी तीन थरी देवता छन् । मष्टको नाम तिनका ठाउँ र स्वभाव अनुसार रहेको हुन्छ । जस्तै ढँडार मष्ट, खप्पर मष्ट, दाह्रे मष्ट, दूधे मष्ट, वाविरो मष्ट, कालोसिल्टो मष्ट, सुनार गाउँ मष्ट आदि । बाह्रभाइ मष्टमा कोही भोग (पशुबलि) खाने, कोही दूध खाने र कोही वावर (रोटी) खाने हुन्छन् ।

नौ बहिनी भवानीमा कुनैका नाम कनकासुन्दरी, त्रिपुरासुन्दरी, कालिका, मालिका आदि शुद्ध संस्कृत भाषामा रहेका छन् । कुनैका खेसमालिनी जस्ता स्थानीय भाषामा रहेका छन् भने कुनैका चाहिँ ठिंग्याल्नी र पुंग्याल्नी जस्ता जाड (जडान) भाषामा पनि रहेकाछन् । यसरी खसानका खसहरुको मष्ट संस्कृतिमा जडानका जाडहरुको संस्कृतिले प्रभाव पारेको देखिन्छ ।
खस संस्कृतिमा जाड संस्कृतिको प्रभावको एउटा सुन्दर नमूना लामा (विष्णु) हो । लामा (विष्णु) बाह्रभाइ मष्ट र नौ बहिनी भवानीका मामा हुन् । एउटै देवतालाई लामा पनि मान्ने र विष्णु पनि मान्ने हुनाले लामा (विष्णु) भनेको हो । यस सन्दर्भमा लामा भन्नाले लामा बौद्ध धर्म अन्तर्गत फाग्प च्यङरेसी (आर्यावलोकितेश्वर) हुन् ।

कर्णाली प्रदेशको लामा (विष्णु) मतले गण्डकी प्रदेशमा आएर मुक्तिनाथको रुप लिएको हो । मुक्तिनाथलाई हिन्दूहरु विष्णु र बौद्धहरु फाग्प च्यङरेसि (आर्यावलोकितेश्वर) मान्दछन् । हुन त मष्टको घरमाडु र वनमाडु भन्दछन् । तापनि खासमा वनभित्र रुखको फेदमा र ढुङ्गाको पखेरामा मष्टको पूजा गरिने हो ।

आजकल मष्टको थानमा छाना हालेको पनि पाइन्छ । तर मष्टको थानमा छाना हाल्नु हुँदैन । किनभने यो विशाल आकाश नै मष्टको छाना र दिशाहरु नै द्वार हुन् । त्यसकारण मष्टलाई छानाले ढाक्न हुँदैन र खुला आकाश मुन्तिर मष्टलाई स्थापना गर्नुपर्छ । मष्टको कुनै स्वरुप र मूर्ति हुँदैन । मष्टको थानमा कुनै ढुङ्गा व कुनै प्रतीक पनि स्थापना गर्नु हुँदैन । किनभने मष्ट निराकार र निर्विकार छन् । मानिसले देवी देवताको साकार मूर्ति बनाएर प्रतिमा पूजा गर्नुभन्दा पहिले ढुङ्गा आदिलाई देवी देवताको रुपमा स्थापना गरेर प्रतीक पुजा गर्दथे ।

मष्ट परम्परा र पूजा प्रतीक पूजाको विकास हुनुभन्दा पहिलेको थिति, मान्यता र परम्परा हो । त्यसकारण मष्टको कुनै प्रतीक र मूर्ति नभएको हो । मष्टको दियो, घण्ट र चमर हुन्छ । उक्त दियो, घण्ट र चमर मूल धामीको घरमा राखिन्छ । पूजा गर्ने बेलामा मूल धामीको घर अथवा घरमाडुबाटै दीयो बालेर वनमाडु अथवा पूजा गर्ने ठाउँमा लगिन्छ ।

मष्टको पूजा गर्ने रुखको वरिपरी सेउलाले भित्री बाहिरी दोहोरो मण्डल बारेको हुन्छ । मण्डलको भित्री घेरामा त्यस कुलको जेठा बूढा र मष्टको धामी मात्र जान पाइन्छ । अरु वंश बगाल (समूह)हरु बाहिरी घेराभित्र बस्दछन् । मष्ट पूजामा बाहुन पुरेत पनि राखेको हुन्छ । तर भित्री घेराभित्र त बाहुन पुरेत पनि जान पाइँदैन ।

संस्कृति Tradition/Adaptation गरि दुई प्रकारका हुन्छन् । मष्ट पूजामा भित्री भागमा गरिएको पूजा खसहरुको आफ्नो Tradition हो र बाहुन पुरेत राखेर बाहिरी भागमा गरिने पूजा Adaptation हो । खसहरु गणजाति हुन् । गणजातिमा गण प्रमुखको मुख्य भूमिका रहेको हुन्छ । मष्ट पूजामा मण्डलको भित्री भाग (Inner Core) बसेका जेठा बूढाले गण प्रमुखको भूमिका निर्वाह गरेको हुन्छ । धामीले त मष्ट देवता कै प्रतिनिधित्व गर्दछ ।

मष्ट पूजा भर्खरभर्खर मानव सभ्यता र संस्कृति विकास हुन लागेको आदिम जङ्गलात अवस्थाको थिति र परम्परा हो । त्यसकारण मष्ट पूजामा पछि विकास भएको चित्रा र भकारीले नबारेर पुरानै थिति अनुसार सेउलाले नै मण्डल बारिएको हो । यसैगरी मष्ट देवताको कुनै मन्त्र र स्तोत्र पनि हुँदैन । दियो बालेर हेर परमेश्वर फलानो मष्ट देवता भनेर धूप हाल्नासाथ धामीमा मष्ट चढिहल्छ । यसरी धामीमा मष्ट चढेको प्रत्यक्ष देख्न सकिन्छ ।

दियो एउटा प्रकाशपुञ्ज र ज्ञानरश्मि हो । अतः त्यही प्रकाशपुञ्ज ज्ञानरश्मि दियो नै मष्ट देवताको द्योतक हो ।
मष्ट देवता जीववाद (Animism)मा आधारित परम्परा हो । जीववादमा आफ्नै दिवङ्गत पुर्खा र आफ्नै वरिपरीका प्राकृतिक स्रोतहरुलाई नै देवता मानिन्छ । त्यसकारण प्रकृतिपूजा नै मष्टपूजाको मुख्य चरित्र हो । तिब्बत र नेपालको हिमाली क्षेत्रका बोन्पोहरु र मष्टका धामीले उभिण्डो पारेर घण्ट बजाउँदछन् । जसले बोनवादी र मष्टवादीको अन्तर सम्बन्धलाई प्रष्ट्याउँदछ ।

पश्चिम नेपालको कर्णाली प्रदेशमा विकसित खस समुदायको जीववादमा आधारित मष्ट परम्परामा तिब्बतको बोन र बौद्ध मतले प्रभाव पारेपछि मष्ट परम्परा जीववाद (Animism) बाट मन्त्र, तन्त्र (Shamanism) तिर उन्मुख हुँदै गएको मानिन्छ । त्यसपछि भारतको गङ्गाको मैदान र काश्मिरमा विकसित आर्य संस्कृतिले प्रभाव पारेपछि आदिम चरित्रको मष्ट परम्परामा अनेक मन्त्र र विधि विधानहरुले प्रश्रय पायो । त्यसपछि मष्ट परम्परा विस्तारै आर्यकरण भएर अहिलेको यो अवस्थासम्म आइपुगेको हो ।

मष्टका धामी आफ्नै वंशका खस बाहुन नै हुन्छन् । र, मष्टका धामीले आफ्नै भाषामा पतुर्छन् । तर धामीले आफ्नो भाषामा पतुर्नु भन्दा पहिले धामीले चाइँचाइँ चुइँचुइँ जस्तो लवजमा बोल्दछन् । कोही यसलाई देवभाषा पनि भन्दछन् । सम्भवतः मष्टको धामीले बोल्ने देवभाषा भनिने यो लवज कतै खसहरुको आफ्नो खास भाषा त होइन ? यसतिर पनि सोच्नुपर्ने बेला आएको छ । यसरी नेपाली जनजीवनले ज्येष्ठ शुक्लपूर्णिमालाई आफ्नै परिवेशको पर्व मानेको छ । यी कुराहरु हाम्रा मान्यता, निधि र अमूर्त सांस्कृतिक सम्पदा हुन् । यसैमा नेपालीको जीवन बाँचेको छ र नेपाली संस्कृति बचेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्