तयामा, खियामा र हेत्छाकुप्पा

प्रायः आदिवासीहरुसँग लिखित इतिहास छैन । त्यसरी नै राईहरूसँग पनि हजारौँ लाखौँ वर्ष पुरानो लिखित इतिहास छैन । तर राईहरूसँग मुन्दुम छ, सिली छ, सिलोक छ, लय छ । आफ्नै मौलिक संस्कृति छ, सभ्यता, परम्परा, मान्यता, आस्था र मिथकहरू छन् ।

धेरैले सोध्नुभयो “हेत्छाकुप्पा” भनेको के हो ? “हेत्छाकुप्पा” अरु कोही नभएर राईहरूको आदिम पुर्खा हो । “हेत्छाकुप्पा” राईहरूको मिथक अनुसार “तयामा” र “खियामा”को भाइ हो । “हेत्छाकुप्पा” हन्टिङ ग्यादरिङ भन्दा पछि, पशुपालन युग भन्दा पछिको पात्र हुन् ।

“हेत्छाकुप्पा”, “तयामा” र “खियामा” कुनै जङ्गल नजिकै टहरो, छाप्रो अर्थात अस्थायी घरमा बस्ने बाबुआमाको सन्तान हुन् । बाबुआमा यी तीन सानै हुँदा बित्छ । घरको अर्थात परिवारको जिम्मेवारी तायामा खियामाको काँधमा पर्न जान्छ । एकदमै दु:ख हुन्छ । खानेकुरा केही हुँदैन । उनीहरू प्रायः जङ्गलको तरुलहरू खाएर जिविकोपार्जन गर्छन् ।

धेरै दिनको भोक हुन्छ । दुई दिदी बहिनीले गाउँबाट केही खानेकुरा ल्याएर बुछालु (माटोको भाँडो)मा बसाएर भाइलाई आगो हेर्न भनेर पानी लिन जान्छ । भाइले खानेकुरा खान पाइने भो भनेर खुसीले उफ्रिदै चुलाको वरिपरि नाच्छ । नाच्दा नाच्दै दाउरामा कुल्चिन्छ र बुछालुको खानेकुरा घोप्टिन्छ ।

भाइ “हेत्छाकुप्पा” रुन थाल्छ । रुदा रुदा ऊ अगेनु छेउमै निदाउँछ । दिदी बहिनी तायामा खियामा आउँदा भाइ निदाइरहेको हुन्छ । उठाउँदा नउठेपछि भाइ मरेछ भनेर भाइलाई केराको पातले छोपेर त्यही छोड्छ । सिरानीमा कर्द र काँचो केरा राखी छोडेर दिदीबहिनी टाढा जान्छ । भाइ धेरै बेरपछि ब्युँझिन्छ । ब्युँझिदा दिदीहरू कतै हुँदैन । खोज्दै खोज्दै जान्छ तर कहिलै भेट्दैन । त्यसपछि हेत्छाकुप्पाले धेरै सङ्घर्ष गर्नुपर्छ । उनी सिकार खेलेर चरा चुरुङ्गी मारेर ल्याउने, कन्दमुल खनेर खाने गर्दै बिस्तारै हुर्किन्छ ।

उनले एक दिन ढुकुर मारेर ल्याउँछ र ढुकुरको गाँठ घुर्यान/जुठेल्नुमा मिल्काउँछ र ढुकुर पोलेर खान्छ । त्यो गाँडबाट मकैको बोट उम्रन्छ र फल्छ । त्यसपछि उनी खेतीपाती गरेर बस्छ । अलि व्यवस्थित हुन्छ र बिहे गर्छ । बिहे गर्दा चेलीहरू चाहिने भएकोले फेरि दिदीहरू खोज्न थाल्छ । दिदी बहिनी भाइलाई छोडेर हिडेपछि अहिलेको तुवाचुङ डाँडा पुग्छ । त्यसपछि दिदी लेकतिर जाने इच्छा राख्छिन् र बहिनी बेँसितिर ।

दुबै छुटिने भएपछि एक अर्काको हाल खबर बुझ्न लिम्चिङबुङ रोपेर छुट्ने सल्लाह गर्छन् । एक अर्काको सम्झना आए लिम्चिङबुङ हेर्ने र हाल खबर बुझ्ने सल्लाह गर्छन् । दिदी लेकतिर गएर झोर जङ्गल फाड्छ । बहिनी बेसिँतिर झरेर बिरामी पर्छ । एक दिन दिदी तायामालाई बहिनीको याद आउँछ र लिम्चिङबुङ हेर्न आउँछ । बहिनीले रोपेको लिम्चिङबुङ ओइलिएको हुन्छ । बहिनी बिरामी परेछ भनेर खोज्दै जान्छ र भेटेर ल्याउँछ । त्यसपछि दिदी बहिनी कहिले नछुट्ने बाचा गर्दै तुवाचुङ डाँडामा कपास खेती गरेर तान बुनेर बस्छ ।

अहिले पनि तुवाचुङमा ढुङ्गाको तान, फेसा आदि छ । यता भाइको बिहे गर्ने बेला चेली चाहिन्छ । भाइ चेली खोज्दै खोज्दै जान्छ र तायामा खियामालाई भेट्छ । भाइको बिहेमा खुसी हुँदै साकेला नाच्छ र बिहे सकेपछि दिदीबहिनी चेलीहरूलाई खुर्बु लगाएर पठाउँछ । यसरी हेर्दा पशुपालन युग पछिको कृषि युगको सुरुवातको समय कालको पात्र हो हेत्छाकुप्पा, तायामा, खियामा ।

विशेषगरी चाम्लिङ राईहरूले हेत्छाकुप्पा भन्छ । हेत्छाकुप्पालाई रैछाकुले पनि भनिन्छ । राईहरू एकतामा पृथकता भएको समुदाय हो । त्यसैले राईभित्र विविध भाषाहरू छन् । त्यसैले तायामा, खियामा र हेत्छाकुप्पालाई आ-आफ्नो भाषिक समुदायले विभिन्न नामले बोलाएको पाइन्छ । राईहरूको संस्कार, संस्कृति र सभ्यता, परम्परालाई हेर्दा हेत्छाकुप्पाले बसाएको थिति, परम्परा अहिलेसम्म चलिआएको देखिन्छ । जस्तै माइतीको बिहेमा चेली हुनुपर्ने, चेलीलाई खुर्बु लगाउने जस्ता प्रचलन अहिले पनि जीवित छ ।

(याे प्रेमिला राईकाे फेसबुकबाट लिइएकाे हाे ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्