Sunday, December 4, 2022
9.7 C
Diktel

किरात राई जाति र सूचीकरण

Subtitle

यस संसारमा विभिन्न कालखण्डमा फरक-फरक मानव सभ्यताको विकास भएको पाइन्छ । यसै क्रममा आदिमकालदेखि हाम्रो नेपालमा पनि फरक-फरक मानव सभ्यताको विकास भएको पाइन्छ । हाम्रो देशमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ अनुसार ५९ जाति आदिवासी वा मुलबासीकाे बसोबास रहेको छ । प्रतिष्ठान २०५८ अनुसार ५९ जातिमध्ये “राई ” एक प्रमुख आदिवासी जाति हाे । विभिन्न लेखक र इतिहासकारहरुका अनुसार राई जातिको लिखित इतिहास र दस्ताबेज २००० वर्ष पुरानो छ, साथै भारत वर्षकाल पूर्वदेखि नै राई लेखिएकाे देखिन्छ ।

कसरी बन्छ पहिचान ?

संसारमा कुनै पनि जातिको पहिचान तथा नाम मूलतः दुई किसिमले बन्दछ । एक, पूर्ववत् वा प्राकृतिक (Primordial) पहिचान । यो पहिचान नश्लीय र प्राचिनतामा आधारित हुन्छ । दुई, निर्माणात्मक (Constructive) पहिचान । इतिहास, वस्तुस्थिति र परिवेशले पहिचान निर्माण हुने गर्दछ ।

किरात राई कुन पहिचानमा पर्छ ?

किरात राई जाति मानव सभ्यताको दृष्टिले हेर्दा निर्माणात्मक (Constructive) पहिचान तथा नाम अन्तर्गत पर्दछ । अध्ययनले के देखाउँछ भने यो संसारको लिखित दस्तावेजहरुकाे करिब ४००० वर्षको इतिहास छ । त्यसैले किरात भूगोल तथा मानव सभ्यता भित्रको प्रमुख एक “राई” जाति हाे । लेखकहरुको आ-आफ्नो तर्क रहेको पाइन्छ “राई”को बारेमा ।

यो संसारमै एक नमुनाको जाति हो राई । संसारमा सबै भन्दा बढी, एक जाति बहुभाषिक मानव समूह भएको राई जाति हाे । नेपाल केन्द्रीय तथ्यांकअनुसार जहाँ एक (१) राई जाति तर २४-२७ भाषिक समूह छन् ।

भाषाशास्त्री डा. तारामणि कोयी राईका अनुसार  भारतमा पनि नागा जातिमा एक (१) जाति तर २१ भाषिक समूह रहेका छन् । नेपालमा मगर जातिमा पनि एक (१) जाति तर  ३ भाषिक समूह रहेकाे छ । पहिला, किरात भूगोल तथा सभ्यताभित्र मूलतः राई, लिम्बू, याक्खा र सुनुवार (कोइँच) जाति मात्र पर्दछ भनेर उल्लेख गरेको पाइन्थ्यो । तर पछिल्लो खोज तथा अनुसन्धानले देखाए अनुसार किरात भूगोल तथा सभ्यताभित्र करिब २५ आदिवासीहरु उल्लेख गरिएकाे पाइन्छ ।

राई जातिको विरासत

राई एक प्रमुख स्थापित जाति हो । यो निर्माणात्मक पहिचान भएता पनि यो ठुलो विरासत र इतिहास रचेको जाति तथा पहिचान हो । किरातीहरुले यालकुममा (काठमाडाैँ उपत्यका) करिब २००० वर्ष शासन गरेको इतिहास छ । त्यति मात्र नभर किरात राईहरुले साँगाभन्ज्याङ-बनेपादेखि लिएर माझ किरात भूगोल सबै भू-भागमा आ-आफ्नो गढी तथा दरबार बनाएर राजा भएर शासन गरेको थिए । माझ किरात भूगोलमा करिब ४७ गढीहरुमा राई राजाहरुले राजा भएर शासन गरेको इतिहास छ ।

नेपालको भूगोलमा अन्तिम राजा बुद्धिकर्ण हाङ राई राजा थिए । जो विजयपुर गढीकाे राजा थिए । उनले विस १८३१ सम्म राजा भएर शासन गरेको थिए । उनी गोर्खाको राजा पृथ्वीनारायण शाहसँग पटक पटक युद्ध समेत लडेका थिए । यसरी हेर्दा नेपालमा किरातहरुले शासन गरेको योगफल निकाल्दा करिब ३ हजार ४५० वर्ष शासन गरेको देखिन्छ । नेपाल भन्ने देश पछिल्लो समयमा नामकरण गरिएको हो ।

राई जाति किन एकजुट हुने ?

अहिलेको समय भनेको सबै जना एकिकृत हुने हो । यो चरम बिज्ञान र प्रबिधिको विकासले यो पृथ्वीलाई भूमण्डीकरण बनाइदिएको छ । त्यसैले सबै राईहरु राजा यलम्बर हाङ र खाम्सोसा हाङकाे सन्तान भएको हुनाले एकजुट हुनुपर्छ । सबै राईहरुको पुर्खा एउटै भएको हुनाले पनि एकिकृत हुनुपर्ने आवश्यकता देखिन्छ । राई जातिभित्र भाषिक दृष्टिले पनि एक अर्काको परिपूरक पाइन्छ र  एकअर्काको भाषा मिल्छ । कुनै राईको भाषा ७०० वर्षदेखि छुट्टिएको पाइन्छ भने केही भाषाहरु १००० वर्ष, २००० वर्ष पहिला छुट्टिएको पाइन्छ । आज पनि केही राईहरुको एक अर्काको भाषा मिल्दछ ।

जस्तो, कुलुङ राई र नछिरिङ राई, बायुङ राई र सुनुवार र वाम्बुले राई र जेरुङ राई, पुमा राई र दुमी राई, आठपहरिया र लिम्बू आदि । त्यसैले किरात राईहरु भूगोलको हिसाबले सामाजको हिसाबले संस्कृतिको हिसाबले मानवशास्त्रको हिसाबले भौतिक बिज्ञानको हिसाबले इतिहासको हिसाबले र आर्थिक जीवनकाे हिसाबले पनि सबै एक जाति हाे ।

राईहरु कसरी चैटिएर जाँदैछन् ?

पछिल्लो समय अन्तराष्ट्रिय श्रम संगठन- १६९ र २०५८ सालदेखि जब आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को स्थापन भयो, त्यो बेलादेखि केही राई जातिभित्र सा-सानाे झुण्ड बनाई राई जातिबाट टुक्रिएर जानको लागि छुट्टै अभियान चलाएको देखिन्छ । विशेषगरी आठपहरिया, बाहिङ, बान्तावा, खालिङ, चाम्लिङ, कुलुङ, साम्पाङ, लोहरुङ, मेवाहाङ, नाछिरिङ, थुलुङ र याम्फू आदि  सुचिकृत गर्ने निकाय प्रतिष्ठानकाे कार्यालय धाएको पाइन्छ ।

अर्काेतिर राईहरु ३३ किसिमका छन् । तर ३३ किसिममध्ये केही स-सानो १४ किसिमकाे भाषिक झुण्डहरु मात्र चैटिएर जान चाहिरहेको छन् । जस्तो, बान्तावा राईहरुकाे १८०,००० जति जनसंख्या छ । तर ५००० जति सूचीकरणको प्रक्रियामा छन् र चाम्लिङ राईहरु ८०,००० जति छन् तर ७००० जति सूचीकरणको पक्षमा छन् आदि  । विभिन्न श्रोतका अनुसार सूचीकरण तथा चैटिएर जानको लागि ती झुण्डहरुले विभिन्न राजनीतिक दलका नेताहरुको निवास धाउने र भनसुन गर्ने गरेको देखिन्छ । साथै मानव धिकारकर्मीहरुलाई समेत सूचीकरण हुनु पाउँ भनी ज्ञापनपत्र समेत बुझाएको पाइन्छ ।

सूचीकरणले मात्र मुक्ति मिल्छ ?

आजको वस्तुगत परिस्थिति अनुसार सबै भाषिक समूहहरु, थर-उपथरहरु र स-सानो टोलटोल बनेर नयाँ जाति, नयाँ पहिचान र नयाँ समूह बनाइयो भने प्रतिकुलतातिर धकलिने छ । आज  प्रमुख जातिबाट सूचीकरणमा नगएर पनि आ-आफ्नो भाषा, संस्कार, चालचलन, रहनसहन र प्रथाजनित कुराहरुलाई संरक्षण र विकास गर्दै आएको पाइन्छ । अर्को कुरा प्रतिष्ठान २०५८ अनुसार जो चैटिएर सूचीकरण जाने अभियानमा छन् तिनीहरुमा सुचीकृत हुन सक्ने पर्याप्त आधारहरु छैनन् र मापदण्ड पुग्दैन । तर तिनीहरुले जबर्जस्ती सूचीकरणको अभियानमा निरन्तरता दिइरहेका छन् ।

समसामयिक उदाहरण

यहाँ म जिवन्त र समसामयिक उदाहरण प्रस्तुत गर्दछु, जुन सोलुखुम्बु जिल्लाभरिका किरात राईहरुको अवस्थाकाे बारेमा । सोलुखुम्बु जिल्लाममा ५ किसिमकाे राईहरुकाे बसोबास रहेकाे छ । सोलुखुम्बु जिल्लामा करिब ३४ प्रतिशत जनसंख्या राई जातिको छ । र सबै भन्दा धेरै जनसंख्या राई जातिकाे रहेको छ । नेपालको ७७ जिल्लाभरमा सबैभन्दा बढी राई जातिको बाहुल्यता भएको जिल्लामध्ये एक जिल्ला हो सोलुखुम्बु । तर ती ५ किसिमको राईहरुको समुदायबाट स-सानो झुण्ड बनाएर राई जातिबाट टुक्रिएर सूचीकरणमा जान पाउँ भनी विभिन्न राजनीतिक प्रतिनिधिहरुलाई अनुरोध गरेको पाइन्छ र प्रतिष्ठान- २०५८ को कर्यालय गएर पटक-पटक ज्ञापनपत्र बुझाएको पाइन्छ ।

अन्य जातिमा के छ ?

किरात राई जाति मात्र नभएर अरु जातजातिभित्र पनि विभिन्न किसिमको विविधता पाइन्छ । मगर जातिभित्र पनि धेरै किसिमको मगरहरु छन् । तर सबै मगरहरुले जातिमा मगर लेखेर एकरुपता र एकता गरेका छन् । तामाङ जाति पनि धेरै किसिमको पाइन्छ । तर सबै तामाङहरुले जातिमा तामाङ उल्लेख गरेर एकीकृत भएका छन् ।

डा. टेक गुरुङका अनुसार गुरुङ जाति पनि २०२ किसिमका छन् । तर सबैले जातिमा गुरुङ नै उल्लेख गरी एकता गरिएकाे देखिन्छ । नेवार जातिभित्र पनि करिब १६० किसिमका छन् । तर सबैले जातिमा नेवार लेखी गोलबद्ध भएर बसेका छन् । क्षेत्री जाति पनि धेरै किसिमका छन् । तर सबैले जातिमा क्षेत्री लेखाइ एक भएका छन् । र, ब्राम्हण जाति पनि धेरै किसिमको भएता पनि सबैले जातिमा ब्राम्हण लेखाइ एकिकृत भएको पाइन्छ ।

अझ ब्राम्हण जातिमा ठुलो उच-निचको सामाजिक समस्या छ । जस्तो; उपाध्यय ब्राम्हण, जैसी ब्राम्हण, कुमाई ब्राम्हण, झर्रा ब्राम्हण र र खत्री ब्राम्हण । यसरी सबै जातजातिहरु एकीकृत हुनु जरुरी छ । सबै जातजाति साझा बगैंचा भएर बस्नु पर्दछ । आजकाे जनसंख्या भनेकाे विकासकाे पूर्वाधार हाे, शक्ति हो, सम्पत्ति हाे ।

त्यसैले हामी सबै एक हुन जरुरी छ । फुटेर होइन, जुटेर बस्नुपर्छ । नेपाल संस्कृति, जातजाति र भाषामा धेरै धनी देश हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव तथा प्रखर नेता आङकाजी शेर्पा भन्नुहुन्छ कि सूचीकरणमा जानु भनेकाे “न्याउरी मारी पछुतो हाे” । आज भौतिक सम्पत्तिले सम्पन्न देशहरुले चन्द्रमा, मंगल ग्रह र बृहस्पति ग्रहमा मानव बसोबासको लागि प्रयास गरिरहेका छन् । तर नेपाल देशमा भने हामी एक हुनुको सट्टा फुटेर चैटिएर टुक्राटुक्रा हुँदैछाैं । यसले इतिहासमा राम्रो सन्देश दिदैन र हामीलाई राम्राे बाटो देखाउँदैन ।

(लेखक किरात बायुङ राई सुम्निखिमकाे केन्द्रीय अध्यक्ष तथा किरात इतिहासकाे अध्येता हुन् ।)

सन्दर्भ सामग्रीहरुः
जितमान चाम्लिङ राई : KIRATAS HISTORY & GENEALOGY
हिमालधन राई : आदिवासी जनजातिको मूलबाटो
डा. तारामणि कोयी राई : त्रिभुवन विश्वविद्यालय
रामचन्द्र रुपाबुङ राई : HERITAGE OF THE KIRATAS
इमानसिङ चेम्जोङ : किरात इतिहास
दिनेशराज पन्त : प्रथम किरात राजा यलम्बरकाे समय
आहुति : जात वार्ता
डा. हर्क गुरुङ : विषय विविध
प्रा.डा. ओम गुरुङ : त्रिभुवन विश्वविद्यालय
गोकुल घर्ती मगर : उपाध्यक्ष- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
राम मादेन लिम्बू : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
दिवस राई : आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिस्ठान
धिरेन्द्र रुम्दाली राई : युवा नेता तथा समाजसेवी
गणेश वाम्बुले राई : वरिष्ठ पत्रकार तथा समाजसेवी
यसबहादुर बायुङ राई : समाजसेवी तथा केन्द्रीय अध्यक्ष- जिमी राई उत्थान समाज

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्