Wednesday, November 30, 2022
10.4 C
Diktel

अमेरिकामा पढेर आएकाे हुनाले माओवादीहरुले मलाई सिआईएको एजेन्ट भन्थे

Subtitle

मैले बिस्तारै बिस्तारै आफ्नो जीवनी नै लेख्ने निर्णय गरिसकें । सायद ३ बर्ष जति लाग्ला । तर छोटो छोटो टुक्रा भने लेख्दै जान्छु । आज अर्को टुक्रा सुन्नुहोस् । यसमा मैले म अमेरिकाको सिआईए अथवा पश्चिमाहरुको एजेन्ट होइन भन्ने कुरा लेख्दै छु ।

म २०४५ सालमा व्यक्तिगत प्रयासमा उतैको विश्वविद्यालयको छात्रवृत्ति पाएर अमेरिका पढ्न गएको थिएँ । त्यो छात्रवृत्ति पाउन के कस्तो प्रयासहरु गरेको थिएँ भन्ने लामो कहानी छ र त्यो कहानी अर्को पटक लेखुम्ला । म अमेरिका जाने बेलासम्म नेपालमा पञ्चायती व्यवस्था नै थियो । म अमेरिकामा पढेर २०४९ सालको भाद्र महिनामा नेपाल फर्केको थिएँ । नेपाल आउनुभन्दा पहिलेदेखि नै नेपालमा जागिर नखाने मेरो दृढ सोचाइ थियो । किनभने नेपालको जागिर मैले शिक्षकको रुपमा २०३० सालदेखि २०४४ सालसम्म खाइसकेको थिएँ । त्यसैले समय बिताउन केही समयको लागि भनेर आफ्नै गाउँ नाङ्गी म्याग्दीमा गएर समाजसेवाको काममा लागें र त्यहीं नै ब्यस्त भएँ ।

म आफ्नाे गाउँमा दुई तीन बर्ष बसिसकेपछि म्याग्दीका केही मान्छेहरुले मलाई शंका गर्न थालेछन् । “अमेरिकाबाट पढेर आएको मान्छे किन गाउँमा बसिरहेको छ भनेर केही नेताहरुले कुरा गर्छन् दाइ” भनेर मलाई गाउँले साथीहरुले सुनाउँथे । शंका गर्नेहरुको अड्कल के रहेछ भने पक्कै पनि महावीर पुन म्याग्दीमा बसेर चुनाब लड्न आएको होला भन्ने रहेछ । किनभने त्यतिबेलासम्म नेपालमा लोकतन्त्र आइसकेको थियो ।

म्याग्दी जिल्लाका राजनैतिक पार्टीहरुले मलाई दशैँतिहारको बेलामा शुभकामना कार्ड पनि पठाउन थाले । अनि केही चिनेजानेका साथीहरुले चुनाबमा उठ्न भनेर मच्चाउन पनि थाले । तर मैले सबैलाई राजनीतिमा पटक्कै नलाग्ने कुरा भनेपछि दशैँतिहारको शुभकामना कार्ड पनि आउन छोड्यो । म एकोहोरो भएर विभिन्न क्षेत्रको सामुदायिक विकासको कामहरुमा लागें । त्यसै क्रममा सकीनसकी गाउँमा कम्प्युटर र इन्टरनेट लैजाने काम गरेको हो ।

म म्याग्दीको गाउँमा जाँदा नेपालमा माओवादीहरुको अभियान जन्मेको पनि थिएन । म्याग्दीको हाम्रो गाउँतिर बल्ल २०५७ सालपछि मात्र माओबादीहरु आएका हुन् । उनीहरुले म्याग्दीको विभिन्न गाउँहरुमा जनसभा गर्दा बेलाबेलामा मलाई नै तोकेर “म्याग्दीमा सिआईएको एजेन्ट छिरेको छ, उसँग होसियार हुनू” भनेर भाषण पनि गर्दा रहेछन् । यो कुरा गाउँलेहरुले आएर मलाई सुनाउँथे ।

उनीहरुले मसँग सम्पर्क गरेको २०५९ सालतिर हो । एकजना माओवादी भाइले मलाई एक लाख रुपैयाँ चन्दा माग गरेको माओबादी जिल्ला कमिटीको चिठी ल्याएर दियो । मैले पनि उसलाई “मैले गाउँको स्कुलमा काम गरे ता पनि कसैले मलाई तलब नदिने हुनाले र कुनै आम्दानीको स्रोत नभएको हुनाले चन्दा दिन सक्दिनँ” भनेर भनेँ र दिइनँ पनि । त्यो चिठी ल्याउने भाइलाई पनि “तिम्रो कमाण्डरलाई त्यही कुरा भनिदिनू” भनेर पठाएँ । तर स्कुलका अन्य शिक्षकहरुसँग भने चन्दा उठाएर लगेकै हो ।

त्यसको केही महिनापछि माओवादीको एकजना कमाण्डर भाइ आएर “हामी तपाईंको बारेमा बिस्तृत अनुसन्धान गर्दैछौं” भनेर भने । मैले पनि हुन्छ नि भनिदिएँ र “अनुसन्धानको रिपोर्ट जे आउँछ मलाई पनि भन्नुहोला र मलाई कुनै कुरामा दोषी पाउनुभयो भने तत्कालै कारबाही गर्नुहोला” भनेर जबाफ दिएँ । माओबादीहरुले अनुसन्धान गरेर के पत्ता लगाए भन्ने कुरा मलाई भनेनन् । सायद मेरो विरुद्धमा केही प्रमाण पाएनन् होला । यदि माओवादीहरुले म कुनै स्वदेशी अथवा बिदेशीको एजेन्ट भएको प्रमाण पाएको भए उतिबेला पक्कै कारबाही गर्थे होला नि । अहिलेसम्म पनि मलाई शंका गर्ने नेपालीहरुलाई यही भन्न चाहन्छु कि यदि कसैले मैले कुनै विदेशीको एजेन्ट भएर काम गरेको पाउनुभयो भने मलाई दण्ड सजाय गर्नुहोला ।

माओवादी जनयुद्ध सकिएको केही बर्षपछि त्यति बेला गाउँमा भेट भएको एक जना कमाण्डरसँग पोखरामा भेट भयो । उनले भनेको कुरा यस प्रकार छ– “हामी भन्दा पनि तपाईं पक्का कम्युनिष्ट हुनुहुँदो रहेछ । हामी त सहरमा आएर सरकारसम्म नै पुग्यौं तर तपाईं अहिलेसम्म पनि गाउँमा नै मरिमेटेर काम गरिरहनु भएको छ” । ती भाइको नाम मलाई थाहा छैन । किनभने उतिबेला माओवादीहरुको गोप्य नाम हुन्थ्यो ।

अन्तमा, म एउटा मानवतावादी मनुष्य हुँ । अब यस धर्तीमा ३० बर्ष जति बाँचिन्छ होला । मेरो नजरमा सम्पूर्ण मानव जगत बराबर छन् । अहिलेसम्म मैले कसैसँग रिस राग, झैझगडा गरेको छैन र बाँचुन्जेल गर्ने पनि छैन । अनि कसैको जरो खन्ने मेरो बानी छैन । म केटाकेटी, बुढाबुढी, जवान, साधुसन्त, सज्जन, चोरफटाहा, लुच्चा, डाँका, धनी, गरिब, किसान, मजदुर, ब्यापारी, कर्मचारी, स्वदेशी, बिदेशी सबैसँग मिलेर सामाजिक काम, सामुदायिक काम र देश बिकासको काम गर्न सक्छु । कोही व्यक्ति यदि मसँग आएर काम गर्न चाहन्छ भने मैले उसको पृष्ठभूमि हेर्दिनँ, बरु उसले समाजलाई फाइदा हुने के काम गर्न खोजेको हो र त्यो काम गर्न उ कत्तिको लगनशील र गम्भीर छ भन्ने कुरा हेर्छु । त्यसैले म यो संसारमा जो सुकैसँग पनि काम गर्न सक्छु । मसँग काम गर्न इच्छुकहरु आउनुहोस्, सँगै मिलेर काम गरौँ । संसारमा कोही पनि अजम्मरी छैन । आखिरमा मरेरै जानुपर्छ भने किन झगडा गर्ने ? शान्त हुन प्रयास गरौँ र सिकौं पनि । गौतम बुद्धले भन्नुभएको र गर्नुभएको यही थियो । लौ त धन्यबाद ।

(याे सामग्री महावीर पुनकाे फेसबुकबाट लिइएकाे हाे ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्